काठमाडौं- प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी बहस बिहीबारका लागि सकिएको छ।
बिहीबार वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, हरिहर दाहाल, प्रेमबहादुर खड्का, बोर्णबहादुर कार्की, मिथिलेससिंह यादव, हरि उप्रेती, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरे।
रिट निवेदक र सरकारी पक्षलाई अदाललते १५/१५ घण्टाको समय निर्धारण गरेको छ। अब रिट निवेदक तर्फका कानुन व्यवसायीलाई बहसका लागि ४ घण्टा ४५ मिनेट बाँकी छ।
रिट निवेदककाे बहसपछि सरकारी वकिल र प्रधानमन्त्रीका कानुन व्यवसायीले बहस गर्नेछन्। उनीहरूले बहसका लागि १५ घण्टाको समय पाउनेछन्। सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले २ घण्टा र एमिकस क्युरीले पनि बहसका २ घण्टा समय पाउनेछन्।
त्यसपछि रिट निवेदकहरूले इजलासमा उठेका प्रश्नको जवाफ ३ घण्टामा दिनेछन्। यो प्रकिया सकिएपछि सुनुवाइको चरण सकिएर फैसलाको चरणमा प्रवेश हुनेछ। अदालतले चाहेमा साेही दिन वा केही समय लिएर फैसला दिनेछ।
प्रतिनिधि सभा विघटन मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ चलिरहेको छ। सुनुवाइ शुक्रबार पनि जारी रहनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते राति प्रतिनिधि सभा विघटन गरेकी थिइन्।
यसअघि गत पुस ५ गते गरिएको प्रतिनिधि विघटनलाई सर्वाेच्च अदालतले फागुन ११ गते बदर गरिदिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।