फाइल तस्वीर।
काठमाडौं- वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संविधानको धारा ७६ (५) प्रतिनिधि सभाका सदस्यलाई दिइएको ब्रह्मास्त्र भएको बताएका छन्। उनले यसमा सांसदहरूलाई दलीय ह्वीप नलाग्ने तर्क गरे।
उनले नेपालको शासन प्रणाली संसदीय प्रणालीभन्दा सुधारिएको उल्लेख गर्दै भने- 'हामीकहाँ भएकाे प्रणालीले प्रतिस्पर्धाका आधारमा प्रधानमन्त्री बनाउने हाे।'
प्रतिनिधि सभा विघटन मुद्दामा बिहीबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा उनले अघिल्लाे पटक र यसपटक राष्ट्रपति कार्यालयले पठाएकाे लिखित जवाफ फरक फरक आएको उल्लेख गरे। 'दोस्रोपटक अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउनु भन्ने निवेदन आउँदैमा स्वीकार हुन सक्दैन, प्रश्न उठाउन पाइँदैन भनियाे', श्रेष्ठले भने, 'तर, अघिल्लाे पटक प्रधानमन्त्रीलाई संविधानमा नभएकाे सबै अधिकार हुने दाबी गरिएकाे थियाे। त्यही आधारमा यहाँ बहस समेत भएकाे थियाे।'
अघिल्लाे फैसला अनुसार विघटन गरेकाे राष्ट्रपतिले लिखित जवाफमा जिकीर गरेको उनले बताए। 'प्रधानमन्त्रीले पनि यही जवाफ दिनु भएकाे छ। ७६ (५) भनेकाे प्रतिनिधि सभाका सांसदलाई दिएकाे ब्रह्मास्त्र हाे,' उनले भने, 'यसले अन्तिम रुपमा प्रयाेग गरेर प्रतिनिधि सभा बचाउने र प्रधानमन्त्री बचाउन प्रयाेग गर्न पाउँछन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।