काठमाडाैं– जनता समाजवादी पार्टी गण्डकी प्रदेशमा अर्थ मन्त्रालय छोड्न तयार देखिएको छ। राष्ट्रिय राजनीतिको मर्म अनुसार अर्थ मन्त्रालय छोड्न तयार रहेको दलले जनाएको छ।
असार ४ मा विश्वासको मत लिनुअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अर्थ मन्त्रालय जसपालाई दिने सहमति गरेका थिए। सहमति अनुसार अर्थ मन्त्रालय आफूले पाउनुपर्ने पूर्व अडानबाट जसपा पछि हटेको हाे। जसपाका विनाविभागीय मन्त्री हरिशरण आचार्यले भने, 'सहमति अनुसार हामीले अर्थ मन्त्रालय पाउनु पर्ने हो। कांग्रेस त्यसको लागि तयार भएन। अर्थमन्त्रालयकै विवादका कारण गठबन्धनमा समस्या नआओस् भनी अर्थ मन्त्रालयको दाबी गरेका छैनौं।'
मन्त्रिमण्डल विस्तार र मन्त्रालय टुंगाउन नसक्नुमा कांग्रेस र माओवादी केन्द्र जिम्मेवार रहेको उनले बताए। चार दिनअघि नै आफ्नो पार्टीले दुई दल मिलेर आउनुस् जसपा बाधक नबन्ने जानकारी गराएको आचार्यले नेपाल लाइभसँग बताए।
कांग्रेसमा मन्त्रीका आकांक्षी धेरै भएपछि केन्द्रको मुख ताकिएको छ। केन्द्रको सल्लाह लिन मुख्यमन्त्री पोखरेल काठमाण्डौ आएर फर्केका छन्। मन्त्री बन्न दौडधुपमा रहेका कांग्रेसका अधिकांश काठमाडाैं आएका छन्। ती मध्ये केही फर्केको र केही यतै रहेको बताइएको छ। कांग्रेसबाट थप दुई मन्त्री थपिने भएका छ्न्। त्यसका लागि दर्जन बढी संसद्को दाबी छ।
प्रदेशभित्र मन्त्रीमण्डल विस्तार र मन्त्रालय तय गर्न नसकेपछि मुख्यमन्त्री पोखरेल र कांग्रेसका विनाविभागीय मन्त्री कुमार खड्का शीर्ष नेतालाई भेट्न काठमाडाैं आएका थिए। कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईलाई भेटेर उनीहरू पोखरा फर्केका छन्।
शक्तिशाली मन्त्रालय भागबन्डामा कांग्रेस र माओवादी बिचमा कुरा मिल्न नसक्दा सरकारले पूर्णता पाउन सकेको छैन। मुख्यमन्त्रीसहित ११ मन्त्रालय रहेको गण्डकीमा कुन दलले कति मन्त्रालय प्राप्त गर्ने भन्ने सहमति भएको छ। कांग्रेस र माओवादी केन्द्रले ४/४ , जसपाले २ र स्वन्तन्त्रले १ मन्त्रालय पाउने सहमति बनेको हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।