काठमाडौं– मेलम्ची नगरपालिकाको नवौं नगरसभाले आगामी वर्षका लागि चालू खर्चतर्फ ७६ करोड र पुँजीगततर्फ ४२ करोड गरी रु एक अर्ब १८ करोड रकम विनियोजन गरेको छ।
नगर प्रमुख डम्बर अर्यालले बुधबार सम्पन्न नगरसभामा नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरेका हुन्। नगरले आगामी आवको कार्यक्रममा विशेषगरी कोभिड– १९ रोकथाम तथा मेलम्ची इन्द्रावती बाढी प्रभावितलाई प्राथमिकतामा राखेको छ।
स्वास्थ्य तथा पुनःस्थापनालाई प्राथमिकतामा राखेको नगरले पुरानालाई निरन्तरता दिँदै केही नयाँ लोकप्रिय कार्यक्रमसमेत ल्याएको छ।
नगरले साठी वर्ष उमेर पुगेका एकल महिला तथा पुरुषलाई मासिक १ हजार भत्ताको व्यवस्था, आधारभूत तहसम्मको अध्ययन पूरा गरी विद्यालय छाडेका १६ वर्षभन्दा माथिका इच्छुक व्यक्तिलाई रोजगारमूलक तालीमको व्यवस्था मिलाउने जस्ता कार्यक्रम समावेश गरेको छ।
नीति तथा कार्यक्रममा बाढी प्रभावितलाई घरधनीले तीन महिनासम्मको घरभाडा छुट गरेमा सोही आवमा तिर्नुपर्ने सबै बहाल कर छुट गरिने पनि उल्लेख गरिएको छ। कृषिलगायत क्षेत्रमा यसअघि नै ल्याइएको लोकप्रिय कार्यक्रमलाई समेत निरन्तरता दिइएको छ।
त्यसैगरी, सञ्चार क्षेत्रलाई साझेदारी अवधारणानुसार सहयोग गर्ने, पत्रकारिता क्षेत्रको प्रबद्र्धनका लागि नेपाल पत्रकार महासङ्घ, सामुदायिक रेडियो र सञ्चार सम्बद्ध निकायसँग समन्वय गरी काम गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।