काठमाडाैं- बृहत नागरिक आन्दोलनले सरकार वादी रहेको जातीय भेदभाव तथा छुवाछूत कसुर मुद्दाका आरोपीलाई हाजिरी जमानतमा छुटाउन शिक्षामन्त्रीकै प्रत्यक्ष संलग्नता देखिनु सरकार नै विभेदको संरक्षणमा लागेको प्रमाण भएकाे बताएकाे छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै बृहत नागरिक आन्दोलनले विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले दण्डहीनतालाई थप बलियो बनाउन राज्यशक्तिकै चरम दुरुपयोग गरेको आरोप लगाएको हो।
जातका कारण डेरा नदिएको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई रुपा सुनारको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो। तीन दिनदेखि थुनामा रहेकाे घरबेटी प्रधानलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जमानतमा छाड्न आदेश दिएकाे थियाे।
त्यसलगत्तै महानगरीय प्रहरी वृत्त सिंहदरबारमा पुगेका मन्त्री श्रेष्ठले प्रधानलाई बा १ झ ८७६३ नम्बरको आफ्नै गाडीमा चढाएर प्रधानलाई बबरमहलस्थित उनकै घरमा लगेर छाडेका थिए।
‘यो घटनामा मन्त्रीले गरेको शक्तिको दुरुपयोग दलित समुदायमाथि सदियौंदेखि भएका हिंसा र गम्भीर मानवअधिकार उल्लंघनका घटनालाई राज्यले संरक्षण दिन्छ भन्ने यथार्थको पुनःर्पुष्टि हो। जातव्यवस्थामा आधारित अन्याय, विभेद र भेदभावका घटनामा सरकारको यसप्रकारको सोझो हस्तक्षेप दलित समुदायको न्यायको आकांक्षामाथि मात्र होइन, सिंगो सामाजिक न्यायको सुनिश्चिततामाथि नै गम्भीर प्रहार हो,’ विज्ञप्तिमा भनिएको छ।
यस्तो अक्षम्य हस्तक्षेप गर्ने छुट कुनै सरकार र मन्त्रीलाई नभएको विज्ञप्तिमा उल्लेख छ। ‘यसले जातव्यवस्थामा निहित भेदभाव र दण्डहीनतालाई मात्र प्रसय दिने भएकोले वृहत् नागरिक आन्दोलन यस्तो अभ्यासको घोर भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
असार १ गते बबरमलस्थित कोठा भाडामा लिने कुरामा सहमति भएको तर जातकै कारण कोठा भाडामा नदिएर अपमान गरेको घटना सार्वजनिक भएको थियो।
घटनापछि संविधान र कानुनले दिएको अधिकारको उपयोग गर्दै पीडित रुपाले प्रहरीमा उजुरी दिएकी थिइन्। प्रहरी वृत्त, सिंहदरबारले आरोपीलाई तीन दिनअघि पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान गरिरहेको थियो।
आरोपीलाई आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को कुन दफा अनुसार जमानीमा छाडेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।