काठमाडौं- चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट विभिन्न मुलुकमा हुने वस्तु निर्यात करिब ३८ प्रतिशतले बढेको छ।
भन्सार विभागका अनुसार नेपालले चालु आवको पहिलो ११ महिना (२०७७ साउन-२०७८ जेठ)को अवधिमा एक खर्ब २१ अर्ब २५ करोड ३९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ३७.७८ प्रतिशत अर्थात् ३३ अर्ब २५ करोड आठ लाख रुपैयाँले बढी हो। गत वर्षको जेठ मसान्तसम्म जम्मा ८८ अर्ब ३१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।
नेपालबाट वस्तु धेरै निर्यात हुने मुलुकको सूचीमा छिमेकी मुलुक भारत रहेको छ। उक्त अवधिमा भारततर्फ सबैभन्दा बढी ९० अर्ब १९ करोड ४५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको विभागको तथ्यांक छ।
यसैगरी, अमेरिकातर्फ १२ अर्ब १६ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। नेपालबाट धेरै वस्तु निर्यात हुने मुलुकमध्ये धेरै निर्यात हुने मुलुकको सूचीमा अमेरिका दोस्रो स्थानमा छ।
तेस्रो, चाैथो र पाँचाैं स्थानमा क्रमश: जर्मनी, बेलायत र टर्की रहेका छन्। ती मुलुकमा गत जेठ मसान्तसम्म क्रमश: दुई अर्ब ८५ करोड ७१ लाख, दुई अर्ब २१ करोड ४२ लाख र एक अर्ब ३२ करोड ८७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ।
यसैगरी फ्रान्समा एक अर्ब २१ करोड १९ लाख, अस्ट्रेलियामा ९८ करोड २० लाख, चीनमा ९४ करोड दुई लाख, जापानमा ८९ करोड २५ लाख र क्यानाडामा ८१ करोड रुपैयाँ बराबरको निर्यात भएको तथ्यांक छ।
विभागका अनुसार नेपालले हाल विश्वका १५७ मुलुकसँग वैदेशिक व्यापार गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।