काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिह्न खडा भएकाले यही बेला आफूहरुको मान्यता स्थापित गर्ने सकिने बताएका छन्। संवैधानिक व्यवस्थामाथि प्रश्न चिह्न खडा भएको अवस्थामा यही बेलामा धक्का दिएर आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने उनको भनाइ छ।
बुधबार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको बताए । यस्तो बेलामा धक्का दिन सके राप्रपाको मान्यताहरु स्थापित हुने र पार्टी अग्रणी शक्तिको रुपमा स्थापित हुने पनि थापाको भनाइ थियो।
'अहिलेको संवैधानिक व्यवस्थामाथि प्रश्नचिन्ह खडा भएको छ। यही प्रश्नचिन्ह खडा भएकै बेलामा हो हामीले धक्का दिन सक्यौँ भने हाम्रा मान्यताहरु स्थापित हुने र साथसाथै पार्टीपनि अग्रणी शक्तिको रुपमा स्थापित हुने,' थापाले भने।
विगतका कमी, कमजोरीहरुबाट पाठ सिक्दै, पार्टी एकतालाई अक्षुण राख्दै पार्टीलाई गतिशिल तुल्याउनुपर्ने आवश्यकता रहेको पनि थापाले बताए। 'अब हामीले आगामी दिनका रणनीतिहरु तय गर्नुपर्ने हुन्छ। विगतका कमी कमजोरीहरुबाट पाठ सिकेर अगाडी बढ्नुपर्ने आवश्यकता छ,' थापाले भने, 'पार्टी एकतालाई अक्षुण राख्दै, प्रतिवद्धता कायम गर्दै हामीले आफुलाई गतिशिल तुल्याउनुपर्ने आवश्यकता छ ।’
अध्यक्ष थापाले पार्टीलाई माथि उठाउनका लागि चाँडोभन्दा चाँडो महाधिवेशन गर्नुको विकल्प नभएको पनि बताए।
पार्टी गतिहिन भएको भन्दै यही अवस्थामा निर्वाचनमा भाग लिए पार्टीले हार ब्यहोर्ने पनि उनले उल्लेख गरे। उहाँले विगतका तितामिठा कुरा बिर्सेर एकताबद्ध हुन पनि आम पार्टी पंक्तिलाई आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।