काठमाडौं– त्रिभुवन विमानस्थलबाट संगठित रुपमा भएको सुन तस्करी मुद्दामा फरार रहेका तीन अभियुक्त विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन(इन्टरपोल)ले वारेन्ट जारी गरेको छ।
निलम्बनमा रहेका एसएसपी श्याम खत्रीसहित तीन विरुद्ध नेपाल प्रहरीको सिफारिसमा डिफ्युजन नोटिस जारी भएको हो।
खत्रीसहित सुन तस्करीका नाइकेद्वय एमके भनिने मोहनकुमार अग्रवाल र रमेश उप्रेती विरुद्ध मंगलबार नोटिस जारी भएको हो। यससँगै उनीहरु अब जुनसुकै देशमा भए पनि त्यहाँबाट पक्राउ गरेर नेपाल ल्याउन प्रहरीलाई सहज भएको छ। उनीहरुको पासपोर्ट नम्बरसहितको विवरण इन्टरपोलले विश्वभर पठाएको छ। अब उनीहरु अन्य देशमा लुकेको अवस्थामा सहजै पक्राउ पर्नेछन्।
हालसम्मको अनुसन्धानमा अग्रवाल सुन तस्करीका मुख्य लगानीकर्ता भएको खुलेको छ। उनी २०७० सालमा पनि ३५ किलो सुनसहित पक्राउ परेका थिए। त्यस्तै, उप्रेती तस्करी समूहका मुख्य व्यक्तिमध्ये एक चुडामणि उप्रेती ‘गोरे’का भाइ हुन्। उनी दुबईमा बसेर नेपालमा सुन पठाउने गर्छन्। उनलाई पक्राउ गर्न नेपाल प्रहरीले यूएईको प्रहरीसँग समन्वय गरिरहेको छ।
एसएसपी खत्री सुन तस्करीको छानबिन सुरु भएलगत्तै फरार भएका थिए। तस्करीमा उनलाई सहयोग गर्ने जवान विष्णुबहादुर खड्का र हवल्दार अमरबहादुर थापा मगर पक्राउ परिसकेका छन्। जसमध्ये खड्का १५ हजार रुपैयाँ तथा थापा साधारण तारेखमा छुटिसकेका छन्।
एसएसपी खत्री विमानस्थलमा कार्यरत रहँदा उनले आफ्नै कार्यकक्षमार्फत सुन पास गराउने गरेको अनुसन्धानमा खुलिसकेको छ। उनी डेढ वर्षअघि पनि सुन तस्करीमा पक्राउ परेकोमा साधारण तारेखमा छुटेपछि जागिर फेरि जोडिएको थियो।
सो प्रकरणमा पक्राउ परेका ६ प्रहरी अधिकारीसहित २९ जना पुर्पक्षका लागि जेलमा छन्। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको बिशेष छानबिन समितिले थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।