काठमाडौं– मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासले संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठनलाई खारेज गरिदिएको छ। सर्वोच्चले मंगलबार जारी गरेको आदेशसँगै ओलीले जेठ २१ र २७ गते गरी थपेका २० जना मन्त्री पदमुक्त भएका छन्। कानुनविद्हरुले सर्वोच्चको पछिल्लो आदेशानुसार अब प्रधानमन्त्री ओलीलाई पदमा बस्ने नैतिकता नभएको बताएका छन्।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश एवम् संविधानका जानकारहरुले प्रधानमन्त्री ओलीले अब तत्काल नैतिकता देखाएर पदबाट हट्नुपर्ने बताएका छन्। सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिएर राजीनामा दिँदै अर्को व्यक्तिलाई सरकार बनाउने बाटो खुला गरिदिनुपर्ने बताए।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी
सरकारले गरेका निर्णयहरु अदालतले एकपछि अर्को गरी अदालतले रोक लगाउनुपर्ने अवस्थामा प्रधानमन्त्रीले अब आफूले सरकार चलाउने नैतिकता गुमाइसकेको महसुस गर्नुपर्ने केसीको टिप्पणी छ। 'संविधान र कानुनमा टेकेर काम गर्न नसक्दा यस्तो अवस्था आएको देखिन्छ ’, केसीले भने ‘अब संविधानको रक्षाका लागि पनि ओली हट्नुपर्ने भएको छ।’
विश्वासको मत गुमाएको प्रधानमन्त्रीले एक वर्षको पूर्ण बजेट ल्याउनेदेखि अध्यादेशबाट शासन सञ्चालन गर्ने अभ्यास विश्वका कुनै पनि प्रजातान्त्रि मुलुकमा नभएको उल्लेख गर्दै केसीले भने, ‘यस्तो प्रधानमन्त्री र सरकारलाई तह लगाउनै पर्ने थियो। सर्वोच्चले पछिल्ला दिनहरुमा गरेको छ।’
ढिलै भएपनि अदालतले सरकारलाई संविधान र कानुन सम्झाएको पनि केसीको भनाइ छ। ‘सरकार जति जति छाडा हुँदै जान्छ त्यति त्यति अदालतले नियन्त्रण गर्ने हो ’, केसीले भने ‘ढिलै भए पनि अदालतले सरकारलाई संविधान र कानुन सम्झाएको छ।’
देशको संविधान र कानुन अनुसार शासन चलाउनुपर्नेमा राष्ट्रपतिदेखि अदालतलाई हेप्ने काम प्रधानमन्त्री ओलीबाट भएको केसीले बताए। ‘अदालतको यस्तो निर्णय अझै अगाडि हुनुपर्थ्यो, केही ढिलो भएको छ’, केसीले भने ‘यदि छिट्टै उनलाई सचेत गराउन सकेको भए अहिलेको अवस्था आउने थिएन, तर ढिलो भए पनि आएको छ।’
संविधानविद् एवं वरिष्ठ अधिवक्ता विपिन अधिकारी पनि सरकार संविधान र कानुनको बाटोमा नहिँड्दा सर्वोच्चले यस्तो आदेश गर्नुपरेको बताउँछन्।
संविधानविद् एवं वरिष्ठ अधिवक्ता विपिन अधिकारी
'संविधान र कानुनमा टेकेर काम गर्न नसक्दा यस्तो अवस्था आएको देखिन्छ’, अधिकारीले भने ‘सरकारविरुद्ध अदालतमा पुग्ने र अदालतबाट आदेश हुने साधारण प्रक्रिया हो। तर, धेरै निर्णय बदर हुँदा सरकारमाथि प्रश्न हुन्छ।’ कानुनको शासन भएको देशमा यस्ता आदेश साधारण रुपमै लिनुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।