काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको एकपछि अर्को धारा मिच्ने क्रम जारी राख्दा सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउने क्रम पनि जारी राखेको छ। सर्वोच्चले नागरिकता सम्बन्धी अध्यादेश हुँदै पछिल्लो पटक मन्त्रिपरिषद् विस्तारसम्म आउँदा सरकारले गरेका संविधान विपरीतका निर्णयहरूमा रोक लगाएको छ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश कुमार ढुङ्गानाको इजलासले सरकारका २० मन्त्रीलाई काम गर्न रोक लगाउँदै प्रधानमन्त्री ओलीलाई संविधानको धारा ७७ को उपधारा ३ पनि सम्झाएको छ।
प्रधानन्यायाधीश संलग्न इजलासले प्रधानमन्त्री ओली प्रतिनिधि सभा विघटन गरेर कामचलाउ भएको अवस्थामा मौजुदा मन्त्रिपरिषद्बाटै निर्वाचन गराउने जिम्मेवारीतिर लाग्नुपर्नेमा आफू अनुकुल व्याख्या गर्दै मन्त्रीहरू थप्ने र हटाउने गरेको भन्दै यस्तो आदेश गरेको हो।




‘प्रतिनिधि सभा विघटनको दोश्रो अवस्थापछि हालका प्रधानमन्त्री नेपालको संविधानको धारा ७७ को उपधारा (१) को खण्ड (ग) बमोजिम स्वतः प्रतिनिधि सभाको सदस्य समेत नरही निजको प्रधानमन्त्रीको पद रिक्त हुन गएको अवस्थामा ऐजन धारा ७७ (३) मा ‘उपधारा (१) बमोजिम प्रधानमन्त्रीको पद रिक्त भएमा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेछ’ भनी उल्लेख भएको देखिन्छ’, सर्वोच्चको आदेशमा भनिएको छ, ‘यसरी प्रतिनिधि सभा विघटन भएको विशेष परिस्थितिमा प्रधानमन्त्रीको अध्यक्षतामा जे जुन अवस्थाको मन्त्रिपरिषद् छ त्यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेछ भनी स्पष्ट रुपमा किटानीका साथ उल्लेख भइरहेको परिप्रेक्ष्यमा तत्काल कायम रहेका प्रधानमन्त्रीले अन्य सामान्य अवस्थाको प्रधानमन्त्रीले जस्तो मन्त्रिपरिषद् विस्तार गर्ने, थप गर्न सक्ने भनी संविधानको कुनै पनि धारामा उल्लेख देखिँदैन।’
धारा ७७ (३) ले साविककै मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने भनी किटान गरिरहेको अवस्थामा 'प्राइम फेसी' रुपमै मन्त्रिपरिषद्को विस्तार गर्ने वा थप गर्ने अधिकार प्रधानमन्त्रीमा रहेको नदेखिएको सर्वोच्चको आदेशमा उल्लेख छ।
‘जेठ २१ गते र जेठ २७ प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरुको थप नियुक्ति, संविधान अनुकूल भएको नभई संविधानको मूल मर्म र भावनाको विपरीत भएको देखियो’, आदेशमा भनिएको छ, ‘निवेदनहरूको अन्तिम टुंगो नलाग्दासम्मका लागि उपरोक्त मितिमा भएको मन्त्रिपरिषद् विस्तारमा परेका प्रतिनिध सभा विघटन हुनुअघिसम्म कायम रहेका विष्णुप्रसाद पौडेल, कृष्णगोपाल श्रेष्ठ, बसन्तकुमार नेम्वाङ एवम् लिलानाथ श्रेष्ठ बाहेकका अन्य बाँकीहरूलाई मन्त्री पदको कार्य नर्गनू/नगराउनू।’
सर्वोच्चले जसपाको एक पक्षवाट सरकारमा सहभागी भएका र एमालेकै केही मन्त्रीहरूको पद खारेज गरिदिएको छ। प्रधानमन्त्री ओलीले संविधानको धारा ७७ को ३ को व्यवस्थालाई अनदेखा गर्दा र यसलाई मिच्न खोज्दा गैरकानुनी रुपमा विस्तारित मन्त्रिपरिषद् बदर भएको अधिवक्ता गोविन्द बन्दीले बताए। सर्वोच्चले संविधान हेरेर निर्णय गर्ने भएकाले संविधानमा नभएको अधिकार प्रयोग गरेर आफूखुशी मन्त्री बाँड्दा अहिले बदर भएको उनको भनाइ छ।
के छ धारा ७७ मा?
७७. प्रधानमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्था : (१) देहायको कुनै अवस्थामा प्रधानमन्त्रीको पद रिक्त हुनेछ
(क) निजले राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा,
(ख) धारा १०० बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा
वा निजको बिरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा,
(ग) निज प्रतिनिधि सभाको सदस्य नरहेमा,
(घ) निजको मृत्यु भएमा।
(२) देहायको कुनै अवस्थामा मन्त्रीको पद रिक्त हुनेछ :
(क) निजले प्रधानमन्त्रीसमक्ष लिखित राजीनामा दिएमा,
(ख) प्रधानमन्त्रीले निजलाई पदमुक्त गरेमा,
(ग) उपधारा (१) को खण्ड (क), (ख) वा (ग) बमोजिम
प्रधानमन्त्रीको पद रिक्त भएमा, (घ) निजको मृत्यु भएमा।
(३) उपधारा (१) बमोजिम प्रधानमन्त्रीको पद रिक्त भएमा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेछ।
तर, प्रधानमन्त्रीको मृत्यु भएमा अर्को प्रधानमन्त्री नियुक्ति नभएसम्मका लागि वरिष्ठतम मन्त्रीले प्रधानमन्त्रीको रूपमा कार्य सञ्चालन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।