काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेता एवं निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले मन्त्री पद गुम्दा कुनै चिन्ता नभएको प्रतिक्रिया दिएका छन्।
केपी ओली नेतृत्वको सरकारमा १९ दिनअघि मन्त्री बनेका उनी मंगलबार सर्वोच्च अदालतको अन्तरिम आदेशपछि स्वत: पदमुक्त भएका हुन्। आदेशपछि अरगरियासँगै २० जना मन्त्रीको पद गुमेको छ।
मन्त्री पद जीवनभरका लागि नभएको बताउँदै अरगरियाले १९ दिनमा पर्यटन मन्त्रालयमा दीर्घकालीन फाइदा हुनेगरी काम गरेको दाबी गरे। सर्वोच्च अदालतको फैसलाप्रति आफूलाई कुनै दु:ख नलागेको अरगरियाले बताए।
‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई हामी मान्छौं। कार्यान्वयन गरेर जान्छौं। मन्त्री पद जिन्दगीभरका लागि हुने होइन, त्यो क्षणिक नै हुने हो,’ नेपाल लाइभसँग कुरा गर्दै अरगरियाले भने, ‘मन्त्री पदमा रहेर काम गर्नका लागि त्यो १९ दिन पनि काफी समय हो। मैले १९ दिनमा जति काम गरेको छु, जसलाई ट्र्याकमा ल्याउने काम गरेको छु त्यसले निरन्तरता पायो भने नागरिक उड्डयन क्षेत्रमा राम्रो हुन्छ।’
जसपाबाट गत जेठ २१ गते आठ मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिएका थिए। राजकिशोर यादवले गत जेठ २७ गत उद्योगमन्त्रीको शपथ लिएका थिए। जसपाको महन्थ ठाकुर-राजेन्द्र महतोपक्षबाट नाै मन्त्री र दुई राज्यमन्त्री ओली नेतृत्वको सरकारमा सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।