काठमाडौं- सरकारमा सहभागी भएको १९ दिनमै जसपाका १० जनाले मन्त्री पद गुमाएका छन्।
राजेन्द्र महतोको नेतृत्वमा जेठ २१ गते जसपाको एक पक्ष सरकारमा सहभागी भएको थियो। मंगलबारको सर्वोच्चको आदेशसँगै उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री महतो तथा अन्य सात जना मन्त्री र २ राज्यमन्त्रीले पद गुमाएका छन्।
यसरी पद गुमाउनेमा शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी, एकवाल मियाँ रहेका छन्।
त्यस्तै राज्यमन्त्रीहरु चन्द्रकान्त चौधरी र रेणुका गुरुङ रहेका छन्। जसपाकै राजकिशोर यादवको मन्त्री पद भने १३ दिनमै गएको छ। राजकिशोर २७ जेठमा मन्त्री नियुक्त भएका थिए।
शरतसिंह भण्डारी उर्जा जलस्रोत तथा सिँचाई, अनिलकुमार झा खानेपानी, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम रोजगार तथा सामाजिक सुरक्षा र उमाशंर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री बनेका थिए।
त्यस्तै चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियाँ युवा तथा खेलकुद र राजकिशोर यादव उद्याोग, वाणिज्य तथा आपूर्ती मन्त्री बनेका थिए। चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री बन्दा रेणुका गुरुङ महिला, बालकालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेकी थिइन्।
सर्वोच्च अदालतले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रिपरिषद् पुनर्गठन र विस्तारविरुद्ध अन्तरिम आदेश दिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्दै मन्त्रपरिषद विस्तारको निर्णय कार्यान्वयन नगर्न भनेको हो।
सर्वोच्चले जारी गरेको आदेशसँगै कामचलाउ प्रधानमन्त्री ओलीले नियुक्त गरेका २० जना मन्त्री स्वतः जिम्मेवारीमुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।