काठमाडाैं- सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् विस्तार गर्ने अधिकार नभएको व्याख्या गरेको छ। मंगलबार मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमाथिको सुनुवाइपछि सर्वोच्चले यस्तो व्याख्या गरेको हो।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रिपरिषद् पुनर्गठन र विस्तारविरुद्ध अन्तरिम आदेश दिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्दै मन्त्रपरिषद विस्तारको निर्णय कार्यान्वयन नगर्न भनेको हो।
आदेशमा कामचलाउ भइसकेका प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न नपाउने उल्लेख छ। '...प्रतिनिधि सभा विघटन भएको विशेष परिस्थितिमा प्रधानमन्त्रीको अध्यक्षतामा जे जुन अवस्थाको मन्त्रिपरिषद् छ त्यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेछ भनी स्पष्ट रुपमा किटानीका साथ उल्लेख भइरहेको पिरप्रेक्ष्यमा तत्काल कायम रहेका प्रधानमन्त्रीले अन्य सामान्य अवस्थाको प्रधानमन्त्रीले जस्तो मन्त्रिपरिषद् विस्तार गर्ने, थप गर्न सक्ने भनी संविधानको कुनै पनि धारामा उल्लेख नभएको र धारा ७७(३) ले साविककै मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने भनी किटान गरिरहेको अवस्थामा 'प्राइम फेसी' रुपमै मन्त्रिपरिषद्को विस्तार गर्ने वा थप गर्ने अधिकार प्रधानमन्त्रीमा रहेको देखिँदैन,' सर्वोच्चको आदेशमा भनिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।