फाइल तस्वीर।
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले उपेन्द्र यादव पक्षका दुई जना प्रदेश सभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। लुम्बिनी प्रदेश सभा सदस्य सहसराम यादव र पुर्मती ढेंगालाई स्पष्टीकरण सोधिएको हो।
लुम्बिनी प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न जारी गरिएको ह्वीप उल्लंघन गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको जसपाका कार्यकारिणी सदस्य केशव झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रदेश सभामा यादव पक्षले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो भने ठाकुर पक्षले पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। लुम्बिनीमा ठाकुर पक्षका चार सांसद छन्। उनीहरू सबै मन्त्री छन्।
सन्तोषकुमार पाण्डेय भौतिक पूर्वाधार विकास, विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारी, कल्पना पाण्डे उद्योग, वन तथा वातावरणमन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकासराज्यमन्त्री छन्। सरकारमा सहभागी भएपछि उनीहरूलाई पदमुक्त गरिएको थियो। तर, सर्वोच्च अदालतको अन्तरिम आदेशबाट उनीहरूको पुनर्बहाली भएको थियो।
सरकारको नीति तथा कार्यक्रममा ठाकुर पक्षले पक्षमा मत दिएको थियो। यादव पक्षले विपक्षमा मत दिएका थिए।
यादव पक्षको असार ३ मा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चारै जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। सोही अनुसार उनीहरूलाई असार ५ मा स्पष्टीकरण पत्र पठाइएको छ। उनीहरूलाई जवाफका लागि ५ दिन समय दिइएको छ।
त्यसैको काउन्टरमा ठाकुर पक्षले पनि उपेन्द्र पक्षका २ जनालाई स्पष्टीकरण सोधेको हो। उनीहरूलाई जवाफका लागि २४ घण्टा समय दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।