काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकताको सहमति भएमा 'भ्याकेट' दर्ताको विषय बाधक नबन्ने बताएका छन्।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट पोखरेलले सहमति भएमा भ्याकेटको औचित्य नै नरहने पनि बताएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता सुम्पिने विषय 'एमालेजनले' सोच्ने कुरा नभएको बताउँदै पोखरेलले पुरानो कुरा विर्सेर 'एकताको बाटो'मा हिँड्न पनि आग्रह गरेका छन्।
पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्– 'सहमति भएमा भ्याकेटको औचित्य नै रहँदैन। शेरबहादुरलाई शत्ता सुम्पने कुरा एमालेजनले सोच्ने कुरा नै होइन। पुरानो कुरा बिर्सेर एकताको बाटोमा हिँडौ। भविष्य एकतामै छ।'
यसअघि एमाले वरिष्ठ नेता माधव कुमार नेपालले सोमबार साँझ नै सामाजिक सञ्जालमा एक सन्देश लेख्दै कर्णालीका प्रदेश सभाका ४ जना सदस्यलाई पुनर्बहाली गर्ने अदालतको आदेशविरुद्ध पुनरावलोकन निवेदन (भ्याकेट) मा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको बताएका थिए।
नेता नेपालले जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको भन्दै असन्तुष्टि समेत पोखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।