काठमाडौं- नेकपा (एमाले)का नेता मणि थापाले आफूहरू माओवादीमा फर्किने कुनै सम्भावना नरहेको बताएका छन्। गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने फैसला गरेपछि एमालेतर्फ लागेका उनले अब पुरानै पार्टीमा फर्किने कुनै सम्भावना नरहेको बताएका हुन्।
पुरानो पार्टी तोडेर नयाँ कम्युनिट पार्टी बनाउनका लागि आइसकेकाले अब पुरानो नभइ नयाँ ध्रुविकरण आवश्यक रहेको उनको भनाइ छ। ‘पुरानो ठाउँमा फर्कनसक्ने कुनै सम्भावना छैन। त्यो सम्भावना हिजो पनि थिएन। त्यो सम्भावना तोडेर नेकपा बनाएको स्थिति हो’, न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा थापाले भनेका छन्, ‘अब पुरानोमा फर्किने होइन, नयाँको ध्रुविकरण चाहिँ जरुरी छ। त्यो ध्रविकरणको कोर्स कहाँबाट सुरु गर्ने भन्दाखेरी ठूलो जनाधार भएको कम्युनिष्ट पार्टी केपी ओलीले नेतृत्व गर्नुभाछ, उहाँले नेतृत्व गरेकै पार्टीबाट फेरि नयाँ खालको ध्रुविकरणको आवश्यकता छ। पुरानोले ध्रुविकरण गर्न सक्दैन।’
उनले आफूहरू प्रधानमन्त्री केपी शर्मा ओलीबाट उपयोग भएको नभई बृहत्तर कम्युनिष्ट आन्दोनको निर्माणका लागि साथ दिएको दाबी गरे। ओली र प्रचण्डले सुरू गरेको कम्युनिष्ट आन्दोलन निर्माणकै प्रक्रियामा रहेकाले आफूहरूले कुनै राजनीतिक रुपमा गल्ती नगरेको बताए।
‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पछिल्लो चरणमा जो समर्थन गर्यौँ। त्यो समर्थनको आधार भनेको नेकपा निर्माणको आधार हो। हामी नेकपा निर्माण गर्न चाहन्छौँ र बृहत्तर कम्युनिष्ट आन्दोलन हामी बनाउन चाहान्छौँ जुन प्रक्रिया केपी ओली र प्रचण्डले सुरू गर्नुभयो’, उनले भने, ‘त्यो प्रक्रियालाई पुरा गर्न चाहान्छौँ। त्यो प्रक्रियालाई पुरा गर्ने बाटोबाट हामी हिँडिरहेकाले राजनीतिक रुपमा केही गल्ती गरेका छैनौँ। हामी उपयोग भएको होइन।’
राजनीतिमा लेनदेन, उपयोग, किनबेच र क्याम्प बदल्ने प्रवृत्तिले राजनीति विकृत गरेको थापाको टिप्पणी छ। उनले आफूहरू अहिले ठीक ठाउँमा रहेको दाबी गरे। नेता थापाले नेकपा (एमाले)को एकतालाई आफूले जायज र न्यायिक ठान्ने पनि बताए। एकताको लागि प्रधानमन्त्री ओलीले वातावरण बनाउनुपर्ने र माधवकुमार नेपाल समूह पनि एकतामा आउनुपर्ने उनको भनाइ छ।
‘पूर्वएमाले एक ठाउँमा आउने कुरालाई हामीले जायज र न्यायिक ठान्छौँ। उहाँहरू आउनुपर्छ। त्यसका निम्ति ओलीले राम्रो वातावरण बनाउनुपर्छ र माधव नेपाल समूहले पनि बदलिँदो परिस्थितिलाई बुझेर आफूलाई ध्रुविकरणको पक्षमा ल्याउनुपर्छ’, थापाले भने, ‘अरु कम्युनिष्ट घटकहरू पनि एक ठाउँमा आउनुपर्छ भन्ने मुल सिद्धान्तको जगमा हामीले काम गरिरहेको हुनाले उहाँहरू आउँदैमा केही फरक हुँदैन। ठूलो डिबेटबाट फेरि कम्युनिष्ट आन्दोलन अगाडि बढ्छ। त्यो ग्रेट डिबेटमा हामी भाग लिन तयार छौँ।’
सर्वोच्चको फैसलापछि पुर्नगठन गर्दा राजनीतिक, कानुनी र नैतिक रुपले सही हुने निष्कर्षसाथ प्रधानमन्त्री ओलीलाई त्यसपछि मात्र मन्त्रिरिषद् गठन सुझाव दिएको भएपनि प्रधानमन्त्रीको निर्णयमा आफूहरूको असन्तुष्टि नरहेको थापाले बताए। तर, प्रधानमन्त्री ओलीले आफूहरूको सहभागिताबिना फरक ढंगले राजनीति गर्न चाहेमा राम्रो नहुने पनि थापाको भनाइ छ।
‘प्रधानमन्त्रीले लिएको डिसिजन स्वीकार गर्छौं भनेको हुनाले हामी यहाँ कन्फ्युजनमा छैनौँ। बालुवाटार कन्फ्युज छन्, उनीहरूले कन्फ्युजको राजनीति गर्न खोजिराछन् भने, उनीहरूले भिन्न तरिकाले राजनीति गर्न खोजिरहेका छन् भने पनि त्यो उनीहरूलाई राम्रो हुँदैन’, थापाले भने, ‘हामीले वैचारिक राजनीति गर्न खोजेको हुनाले हामीलाई कुनै लेनदेनको कुरा छैन। सुझाव नमान्दा असन्तुष्टि पनि होइन।’
नेता थापाले एमालेभित्र पूर्वमाओवादीहरूले पूर्वसमूहको रुपमा आफ्नो अस्तित्व नखोजी वाम प्रवृत्ति, राष्ट्रवादी प्रवृत्ति र प्रगतिशील प्रवृत्तिले प्रश्रय पाओस् भन्ने खोजेको बताए। उनले सबै राजनीतिक विषय सर्वोच्च अदालतमा केन्द्रिकृत हुने स्थितिले देशको राजनीति परिवर्तनको अजेण्डा र परिवर्तनमाथि नै प्रश्न उठाएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।