काठमाडौं- नेकपा एमालेको भ्रातृ संगठन नेपाल ट्रेड युनियन महासंघ जिफन्टको बागमती प्रदेश कमिटीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका बाढी पीडितको आवास पुनर्निर्माणमा स्वयंसेवक खटाउने भएको छ।
जिफन्ट बागमती प्रदेशका अध्यक्ष रामहरी नेपालले विज्ञप्ति जारी गर्दै बाढी पहिरो पीडितको निजी आवास पुनर्निर्माणमा जनशक्ति खटाउने जानकारी दिए। स्वयंसेवी रुपमा दक्ष जनशक्ति खटाउन आफुहरु तयार रहेको बताउँदै अध्यक्ष नेपालले उद्दार र राहत वितरणमा पनि स्वयंसेवक खटाइने जानकारी दिए।
हेलम्बुसहितका क्षेत्रमा राहत पुग्नै नसकेको भन्दै उनले सहज स्थानमा राहत वितरणमा भइरहेको होडबाजी रोक्न माग गरे। एकद्वार नीतिबाट सबै पीडितको घर घरमा राहत पुर्याउनुपर्ने बताउँदै अध्यक्ष नेपालले त्यसका लागि आवश्यक जनशक्ति खटाउन आफुहरु तयारी अवस्थामा रहेको बताए।
मेलम्ची खानेपानी आयोजनामा कार्यरत स्वदेशी तथा विदेशी श्रमिकहरु, माछापालन तथा कृषी फर्ममा कार्यरत श्रमीकहरु र अन्य स्थानीय क्षेत्रमा कार्यरत श्रमिकको जीवन रक्षाका लागि आवश्यक ध्यान दिन पनि जिफन्ट बागमतीले सरकारसँग माग गरेको छ।
बाढीले विद्युत लगायत सञ्चार प्रविधि नष्ट गरेकाले यथासम्भव चाँडो अत्यावश्यकीय सेवा सञ्चालन गर्न पनि जिफन्ट बागमतीले सरकारसँग माग गरेको छ।
सडक तथा बाटो कटान भएको कारण हेलम्बु गाउपालिकाको चनौटे, ग्याल्थुम र किउलसम्म सहज ढंगले खाधान्न तथा अन्य राहत पुर्याउन सकिने अबस्था नरहेकाले प्रशासनले अनुमति दिए ति स्थानमा स्वयंसेवक तत्काल पठाउने तयारी भएको पनि अध्यक्ष नेपालले जानकारी दिए।
जिफन्टसँग दक्ष जनशक्तिसहितको टिम रहेकाले आफुहरु देशको जुनसुकै स्थानमा आइपर्ने विपद् व्यवस्थापनमा तयार रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।