काठमाडौं- सर्वाेच्च अदालतले सरकारको अर्को निर्णय कार्यान्वयनमा रोक लगाएको छ। आइतबार सर्वाेच्चले लाङटाङ क्षेत्र यति समूहलाई दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले जेठ १३ गतेको मन्त्रिपरिषद् बैठकले गरेको उक्त निर्णय कार्यान्वयनमा रोक लगाएको हो।
केही समयअघि नागरिकता अध्यादेश, ढुङ्गा, गिट्टी निकासी र सांसद नभएको व्यक्तिलाई दोहोर्याएर मन्त्री बनाउने कार्य रोकेको सर्वाेच्चले सरकारले यति वर्ल्ड इन्भेस्टमेन्ट प्रालिलाई लाङटाङ निकुञ्जभित्र विद्युत् उत्पादनको अनुमति दिन गरेको निर्णय कार्यान्वयन गर्न रोक लगाएको छ।
तत्कालीन वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको प्रस्तावमा यति वर्ल्ड इन्भेस्टमेन्ट कम्पनी प्रालिलाई निकुञ्ज र आरक्ष क्षेत्रभित्र पनि ठूला विद्युत् आयोजना बनाउन पाउने गरि नियम संशोधन गरिएको थियो।
पुरानो व्यवस्था हटाएर मन्त्रिपरिषद्ले त्यसरी विद्युत् उत्पादन गर्न नदी, खोला थुन्दा प्राकृतिक प्रवाहमा १० प्रतिशत पानी छाडे हुने गरी नियम संशोधन गरेको थियो।
‘संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधारहरूको निर्माण एवं सञ्चालनसम्बन्धी कार्यनीति २०६५’ को ५ मा राष्ट्रिय निकुञ्ज र आरक्षभित्र स्थानीय उपभोक्ताको हितका लागि १ मेगावाटभन्दा कम क्षमताको मात्र (राष्ट्रिय प्रसारण लाइनमा जोड्न नपाउने शर्तमा) विद्युत् उत्पादन गर्न सहमति दिन सक्ने व्यवस्था थियो । त्यसलाई संशोधन गरिएको थियो। तर, सर्वोच्चले त्यसलाई रोक्न भनेको छ।
विद्युत् उत्पादन गर्न नदी, खोला थुन्दा वा फर्काउँदा उक्त नदी, खोलामा महिनावारी डिस्चार्जको कम्तीमा ५० प्रतिशत प्राकृतिक प्रवाह हुने गरी निर्बाध खुल्ला छाड्नुपर्ने नियमा उल्लेख थियो । अधिवक्ता विज्ञानसिंह विष्टले दायर गरेको रिटमा सर्वोच्चले सरकारसँग यस्तो निर्णय गर्नुको कारण लिखित रुपमा पेश गर्न समेत भनेको छ।
यतिलाई लाङटाङ निकुञ्जको भित्रिभागमा पर्ने स्याफ्रु, बृद्धिम, टिमुरे र लाङटाङबाट ३१० मेगावाट क्षमताको (लाङटाङखोला रिर्जरभ्वायर) विद्युत् उत्पादन गर्न प्रक्रिया अघि बढाएको थियो। विद्युत्त प्रवाहमा १० प्रतिशत मात्र पानी छाडे हुने गरी संशोधन गर्नुको साथै सोही कार्यनीति, २०६५ मा थप गरिएको दफा १५ अन्तर्गत यसअघि सर्वेक्षण अनुमति प्राप्त गरेका आयोजनाको हकमा कार्य गर्न अनुमति दिने र अब उप्रान्त राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षको क्षेत्रभित्र पर्ने जलविद्युत तथा केवलकार आयोजनाको हकमा वन तथा वातावरण मन्त्रालयको सहमति प्राप्त भएपछि अनुमति जारी गर्ने निकायले आवश्यक पर्ने अनुमतिपत्र जारी गर्नुपर्नेछ भनी गरेको थप व्यवस्थाले कार्यान्वयन नर्गन समेत सर्वोच्चले भनेको छ।
प्राकृतिक पर्यावरणको नास गरी कुनै अमुक निजी व्यवसायिक कम्पनीलाई फाइदा पुर्याउने गरी गरेको उक्त संशोधनको निर्णय बदनियत र कपटपूर्ण भएकाले मन्त्रिपरिषद्को उक्त निर्णय तथा उक्त कार्यनीतिमा भएका उल्लिखित संशोधनहरु समेत उत्प्रेषणको आदेशले बदर हुनुपर्ने जिकीर रिटमा गरिएको थियो।
राष्ट्रिय आवश्यकताका लागि विद्युत उत्पादन गर्न संरचनाहरु निर्माण गर्दा नदी खोला थुन्दा वा फर्काउदा उक्त नदी खोलामा कम्तीमा १ मेगावाटभन्दा कम क्षमताको जलविद्युत आयोजनाको लागि ५० प्रतिशत, १ देखि १० मेगावाटसम्मको लागि ३५ प्रतिशत, १० देखि २५ मेगावाटसम्मको लागि ३० प्रतिशत, २५ देखि १०० मेगावाटसम्मको लागि २० प्रतिशत र १०० देखि २५० मेगावाटको जलविद्युत आयोजनाको लागि १० प्रतिशत प्राकृतिक प्रवाह कायम हुने गरी पानीको प्रवाह निर्वाध खुल्ला छाड्ने शर्तमा आयोजनाको अध्ययन, निर्माण र सञ्चालनको अनुमति दिइने व्यवस्था विपरीत अनुमति दिने निर्णय भएको सर्वोच्चको आदेशमा उल्लेख छ।
‘प्रकृतिको हरेक सिर्जना वा वस्तुको अस्तित्व रहिरहनुमा आ–आफ्नै प्राकृतिक कारण र महत्व हुन्छ । हरेक वस्तुको पृथक पृथक मूल्य र मान्यता रहेको हुन्छ। कसैको निहित उद्देश्य वा आर्थिक स्वार्थको निमित्त प्राकृतिक मूल्य मान्यता भत्काउने कुरा स्वीकार्य हुन सक्दैन’, सर्वोच्चको आदेशमा भनिएको छ ‘प्रकृतिको पहिचान र अस्तित्वसँग जोडिएर रहेका हावा, पानी, वनजंगल र जैविक विविधता जस्ता विषयहरु कुनै एक पुस्ता मात्रका लागि बनेका होइनन्। तिनको कुनै पनि बहानामा क्षयीकरण गर्न दिनु हुँदैन। विकासको नाममा प्रकृति तथा यसका अवयवहरुको आधारभूत स्वरुप वा मान्यता समाप्त गर्ने छुट कसैलाई पनि हुँदैन।’
यसलाई संरक्षण गर्नु सबैको कर्तव्य र दायित्व भएको अदालतको आदेशमा उल्लेख छ। ‘अमूल्य प्राकृतिक सम्पदा, दुर्लभ वनस्पति, जैविक विविधता, पर्यावरण र वातावरणको संरक्षण आजको आवश्यकता हो। मुलुकको प्रकृति र गौरवसँग जोडिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुहरुको संरक्षणको संवेदनशीलतालाई असर पर्नेगरी औचित्य र विवेकसम्मत कारणबिना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा रहेको प्रावधानको अन्तरनिहित भावनाको विपरीत हुने गरि कार्य भएको देखियो’ आदेशमा भनिएको छ, ‘त्यस्तै यस अदालतबाट प्रतिपादित उल्लिखित सिद्धान्तको प्रतिकूल हुने गरी संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधारहरु निर्माण एवं सञ्चालन सम्बन्धी कार्यनीति, २०६५ को दफा ५ मा भएको संशोधित व्यवस्था र थप गरेको दफा १५ को व्यवस्थाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुहरुको संरक्षणलाई प्रतिकूल असर पुयाउने देखियो।’
यसरी हुने कार्यले सिमित नाफा दिने भएपछि दुरगामी रुपमा प्रभाव पार्नेकुरा अदालतले अनदेखा गर्न नमिल्ने आदेशमा उल्लेख छ। ‘रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधारहरु निर्माण एवं सञ्चालन सम्बन्धी कार्यनीति, २०६५ को दफा ५ संशोधन गर्ने र दफा १५ थप गर्ने नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को जेठ १३ को निर्णय तथा उल्लिखित कार्यनीति, २०६५ को दफा ५ को संशोधित प्रावधान र दफा १५ को थप प्रावधान हाललाई कार्यान्वयन नगर्नु, नगराउनु भनी विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ’ आदेशा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।