काठमाडौं- काठमाडौं उपत्यकामा निर्माणजन्य सामग्रीका पसल असार ८ गतेदेखि दैनिक ७ घण्टा खोल्न पाइने भएकाे छ। आइतबार काठमाडाैं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निर्माणजन्य सामग्रीका पसल दैनिक ७ घण्टा खोल्न दिने निर्णय गरेको हो।
काठमाडाैंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार हार्डवेयर, बिजुलीका सामान, स्यानिटरी, टायल, मार्बल, फर्निचर र कार्पेटिङका पसल बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न दिइनेछ।
यस्तै, आइतबार, मंगलबार र बिहीबार सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल (मोबाइल तथा कम्प्युटर पसल) बिहान ११ बजे देखि दिउँसो ४ बजेसम्म खोल्न पाइनेछ।
सोमबार, बुधबार र शुक्रबार साेही समसयमा डिपार्टमेन्टल स्टोर (ग्रोसरी बाहेक अन्य), सपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम र टेलरिङका पसल खुल्न दिइने भएको छ।
खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पूजा सामग्री बिक्री वितरण गर्ने पसल तथा डिपार्टमेन्टल स्टोर (ग्रोसरी), पुस्तक पसल/ स्टेसनरी पसल दैनिक बिहान ११ बजेसम्म खोल्न पाइने अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।