काठमाडाैं- सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को वैधानिकतामा प्रश्न उठाउँदै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको इजलासले निवेदकले उठाएको विवाद मुद्दाको फैसला हुँदा निरुपण हुने भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
यसअघि न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले अन्तरिम आदेशको छलफलका लागि लिखित जवाफ माग गर्ने आदेश गरेको थियो। आइतबार दोस्रो सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी नहुने स्पष्ट पार्दै अन्तिम सुनुवाइमा सम्बोधन हुने बताएको छ। सर्वोच्चले सुदूरपश्चिम सरकार विस्तार संविधानको व्यवस्थाभन्दा विपरीत भएको हो कि होइन? भनी प्रदेशको मुख्य महान्यायाधिवक्ताको कार्यालयमार्फत् जवाफ पेस गर्न भनेको छ। सर्वोच्चले बाटोको म्यादसहित १५ दिनभित्र जवाफ पेस गर्न भनेको थियो।
अन्तरिम आदेशको विषयमा दुवै पक्षलाई राखेर छलफल गरेपछि मात्र निर्णय गर्न उपयुक्त भनेको सर्वोच्चले बहसपछि अन्तरिम जारी गर्न नपर्ने ठहर गरेको हो।
अधिवक्ता कमलसिंह राना र अपेक्षा निरौलाले सुदूरपश्चिमको मन्त्रीमण्डल संविधानको धारा १६८ ले तोकेको मापदण्डभन्दा धेरै भएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। हाल सुदूरपश्चिम प्रदेशमा छ वटा मन्त्रालय कायम रहेको र ११ मन्त्री बनाएकाले यो कार्य अन्तरिम आदेशबाट बदर हुनुपर्ने रिटमा जिकिर गरिएको छ।
जेठ १४ गते चार मन्त्री र चार राज्यमन्त्री थपेर कूल ११ जनाको मन्त्रीमण्डल बनाइएको थियो। एक जना मुख्यमन्त्री, छ जना मन्त्री र चार जना राज्यमन्त्री गरी कुल ११ जनाको मन्त्रीमण्डल बनाउने कार्यले संविधानको व्यवस्था मिचेको जिकिर रिटमा गरिएको छ।
थपिएका मन्त्रीमा भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारी, उद्योगमन्त्री मानबहादुर धामी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आन्तरिक मामिलामन्त्री पूर्णा जोशी रहेका छन्।
त्यस्तै, भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मीनाकुमारी साउँद, आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री विनितादेवी चौधरीलाई नियुक्त गरेर सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल ११ सदस्यीय बनाइएको हो।
यसरी नियुक्ति गर्दा संविधानको धारा १६८ को उपधारा ९ मा रहेको 'मुख्यमन्त्रीसहित प्रदेश सभाको कूल २० प्रतिशतभन्दा बढी नहुनेगरी मन्त्रिपरिषद् गठन गर्ने’ भन्ने व्यवस्थाको उल्लंघन भएको जिकिर रिटमा गरिएको छ। प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र ३२ र समानुपातिकतर्फ २१ गरी ५३ हुने भएकाले हाल भएका मन्त्रीको संख्या संविधानले तोकेको २० प्रतिशतभन्दा बढी भएको रिटमा जिकिर गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।