काठमाडौं- सर्वाेच्च अदालतले गत फागुन २३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताउने फैसला गरेपछि माओवादीबाट निर्वाचित केही स्थानीय तहका जनप्रतिनिधि एमालेमा प्रवेश गरे। माओवादीबाट एमाले प्रवेश गर्ने जनप्रतिनिधिमध्ये रौतहट र कैलाली जिल्लाका धेरै छन्।
अन्य जिल्लाबाट वडा अध्यक्ष र सदस्यहरु मात्रै एमाले प्रवेश गरे। माओवादीका रामबहादुर थापा ‘बादल’सहित १८ केन्द्रीय सदस्य एमाले प्रवेश गरेपनि स्थानीय तहका जनप्रतिनिधिमा भने खासै असर देखिएको छैन।
रौटहटबाट प्रभु साह र कैलालीबाट लेखराज भट्ट एमाले प्रवेश गरेकाले त्यसको असर स्थानीय तहका जनप्रतिनिधिमा देखिएको छ। रौटहटबाट मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह, उपप्रमुख गौरीशंकर प्रसाद जैयसवाल एमाले प्रवेश गरेका छन्।
नगरप्रमुख रिनाकुमार साह प्रभु साहको पत्नी हुन। माओवादीबाट एमाले प्रवेश गरेकामा कटहरिया नगरपालिका प्रमुख सियारामप्रसाद कुशवाह, देवाही गोहनाही नगरपालिका उपप्रमुख परनिया देवी, फतुवाविजयपुर नगरपालिका उपप्रमुख कान्तिदेवी, माधवनारायण नगरपालिका उपप्रमुख सिमल साह र यमुनामाई गाउँपालिका उपाध्यक्ष गीता देवी शाह रहेका छन्।
यस्तै, कैलालीबाट भजनी नगरपालिका उपप्रमुख छाया देवकोटा र तीन नगरपालिकाका वडा अध्यक्ष एमाले प्रवेश गरेका छन्। महोत्तरीको साम्सी गाउँपालिका प्रमुख शेख फारुक पनि माओवादी छोडेर एमाले प्रवेश गरेका छन्।
एमाले प्रवेश गर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका-७ का वडा अध्यक्ष सुरेशकुमार थापा र सिरहाको लहान नगरपालिका सदस्य सतमीलाल दास ताती रहेका छन्।
यसरी माओवादीबाट एमाले प्रवेश गर्ने स्थानीय तहका जनप्रतिनिधिलाई माओवादीले कारबाही समेत गरिसकेको छ। माओवादीबाट एमाले प्रवेश गर्ने शीर्ष नेताहरू धेरै भएपनि स्थानीय जनप्रतिनिधि र कार्यकर्ता कम देखिएको माओवादीका स्थायी समिति सदस्य लिलामणि पोखरेल बताउँछन्।
‘माओवादी पार्टीको प्रदेश र जिल्लाबाट प्राप्त विवरणलाई अध्यावधिक गरेर कार्यालयमा राखिएको छ। ती सबै विवरणलाई केलाएर पार्टी प्रवेश गरेको हो वा होइन भनेर छानविन गरी कारबाही गरिएको छ’, पोखरेलले भने, ‘एमाले प्रवेश गरेका स्थानीय तहका प्रतिनिधिलाई पार्टीले कारबाही गरेर निर्वाचन आयोगलाई समेत जानकारी गराएका छौं। त्यसको विवरण अझै सार्वजनिक गरिएको छैन।’
माओवादीबाट एमाले प्रवेश गरेका जनप्रतिनिधिको सूची प्रकाशित गरिदिन भन्दै पोखरेल र केन्द्रीय सदस्य मुक्ति प्रधान शुक्रबार निर्वाचन आयोग समेत पुगेका थिए। उनीहरुले माओवादीबाट निर्वाचित जनप्रतिनिधि एमाले प्रवेश गरेकाले तत्काल विवरण सार्वजनिक गर्न निर्वाचन आयोगसँग आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।