काठमाडौं- भारतको नयाँ दिल्लीमा उपचाररत नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार उपचारका लागि थप केही समय भने अझै लाग्नेछ।
खनाललाई ज्वरो, टाउको दुख्ने र खोकीको समस्या हटिसकेको भट्टराईले बताएका छन्। उनका अनुसार खनाललाई अक्सिजन सपोर्ट पनि हटाइएको छ। भट्टराईले आइतबार खनालसँग भिडियो कुराकानी भएको र स्वास्थ्यमा उल्लेख सुधार भइरहेकाे बताएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका खनालको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको छ।
एक हप्ताभन्दा बढी ज्वरो आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनाललाई गत बुधबार नेपाल वायु सेवा निगमको जहाजबाट उपचारका लागि दिल्ली लगिएकाे थियाे।
दिल्ली उड्नुअघि पनि उनलाई निरन्तर खोकी लागिरहेको थियो भने शरीर शिथिल देखिएको थियो। चिकित्सकहरुले कोराेना संक्रमण हुँदा उनलाई निमोनियाको समस्या देखिएको र त्यो समस्या फेरि बल्झिएको हुनसक्ने आशंका गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।