काठमाडाैं- बागमती र गण्डकी प्रदेशका शेरबहादुर देउवानिकटका केन्द्रीय सदस्यहरुले सभापतिमा देउवा उठ्दा सक्रिय समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
आफूनिकटका नेताहरुलाई पालैपालो बोलाएर देउवाले सहयोग गर्न आग्रह गरिरहेका छन्। सोही क्रममा आइतबार बिहान देउवाले दुईवटा प्रदेशका नेताहरुलाई संयुक्तरुपमा आफ्नो निवासमा बोलाएर छलफल गरेका थिए।
छलफलको प्रारम्भमा देउवाले १४औं महाधिवेशनमा फेरि उम्मेदवार बन्न लागेको सुनाउँदै सहयोगको अपेक्षा तथा सुझाव मागेका थिए।
गण्डकी र बागमती प्रदेशका १४ जना केन्द्रीय सदस्य सभापतिनिवासमा भेला भएको पूर्वमन्त्री मोहन बस्नेतले जानकारी दिए। सभापतिले आफ्ना कुरा राखेपछि सहभागीले सुझाव दिएको बस्नेतले सुनाए। ‘सबै पार्टीलाई मिलाएर लैजान तथा संविधान कार्यान्वयन र गणतन्त्रको संस्थागत विकास गर्न उहाँ(देउवा) सभापतिमा फेरि उठ्नुपर्ने हामीले मत हामीले राख्यौं,’ नेता बस्नेतले भने। कम्युनिस्टभित्रको द्वन्द्वले लोकतन्त्रमाथि खतरा उत्पन्न भएकोले देउवा पुनः सभापति हुनुपर्ने बस्नेतको जिकिर थियो।
‘यस्तो अवस्थामा सबैलाई मिलाएर लानसक्ने पर्सनालिटी भएको नेता शेरबहादुर देउवा नै हो। पहिले पनि छ वटा पार्टी मिलाएर सरकार चलाएको व्यक्ति उहाँ हो,' बस्नेतले बैठकमा सहभागीले राखेका धारणाबारे भने,‘टावरिङ पर्सनालिटी भएको व्यक्ति भएकाले तपाईं नै उठ्नुपर्छ। हाम्रो पूर्णरुपमा सहयोग रहन्छ।’
नेताहरु गोपालमान श्रेष्ठ, गोविन्द भट्टराई र ध्यानगोविन्द रञ्जित बैठकमा सहभागी हुन नसकेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।