काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षले 'कीर्ते गरेको पत्र' निर्वाचन आयोगमा बुझाइएको आरोप लगाएको छ। शनिबार विज्ञप्ति जारी गर्दै बाबुराम-उपेन्द्र पक्षले यस्तो आरोप लगाएको हो।
'जनता समाजवादी पार्टीको मिति २०७७/०९/०७ को बैठकबाट 'बैठकबाट भएको निर्णय कार्यकारिणी हेरफेर, प्रमाणीकरण तथा पार्टीको आधिकारिक पत्राचारको अधिकार' महन्थ ठाकुरलाई दिइएको लगायतका निर्णयहरु भएको भन्ने निर्वाचन आयोगमा बुझाइएको भनिएको तथा समाचार माध्यममा सम्प्रेषण भएको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ।




पुस ७ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको सम्पूर्ण निर्णयहरु सोही दिन नै अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरको संयुक्त हस्ताक्षरमा प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गरी सकिएको जनाएको छ। 'उक्त दिनको सम्पूर्ण निर्णयहरु कार्यकारिणी सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेश समिति, जिल्ला समिति लगायत सम्पूर्ण भ्रातृ संगठनहरुलाई समेत संयुक्त हस्ताक्षरद्वारा निर्णयको रुपमा परिपत्रसमेत जारी गरिएको छ,' विज्ञप्तिमा उल्लेख छ, 'केन्द्रीय कार्यकारिणी हेरफेर तथा पुनर्गठन गर्ने अधिकार महन्थ ठाकुरलाई दिने प्रस्ताव उक्त बैठकको कार्यसूचीमा नै थिएन र त्यस्तो कुनै निर्णय भएको पनि छैन। यसरी हुँदै नभएको निर्णयलाई निर्णय भएको भनी २०७८।०३।१ गते झुठा विवरण लेखी कीर्ते, जालसाजी गरी निर्णय भएको भनी महन्थ ठाकुरले निर्वाचन आयोगमा पत्र दर्ता गराएका छन्।'
निर्वाचन आयोग, पार्टी पंक्ति र आमजनतालाई गुमराह गर्ने उद्देश्यले यस्ता नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक, गैरकानुनी तथा दण्डनीय कार्य भएको बाबुराम-उपेन्द्र पक्षले दाबी गरेको छ। 'तसर्थ, यस प्रकारको कीर्ते, जालसाजी गरी निर्णय नै नभएको विषयलाई निर्णय भनी गरिएको कार्यप्रति जसपा नेपाल खेद् व्यक्त गर्दै यस्ता कीर्ते कार्यको निन्दासमेत गरिन्छ,' विज्ञप्तिमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।