काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकटका केन्द्रीय सदस्य बोलाएर सभापतिमा पुनः उठ्ने बताएका छन्।
आफूनिकटका केन्द्रीय सदस्यहरुलाई गोप्यरुपमा बोलाएर देउवाले महाधिवेशनमा सहयोग गर्न आग्रह गरेका हुन्। बैठक गोप्य रहेको जानकारी गराउँदै देउवानिकट केन्द्रीय सदस्यलाई कसैलाई थाहा नदिइ आउन भनिएको थियो। बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने,‘म फेरि एकपटक सभापतिमा उठ्छु, एकपटकलाई सहयोग गर्नुस् भन्नुभयो।’
प्रदेश १ का केन्द्रीय सदस्यलाई बिहान बोलाएको बैठक करिब तीन घन्टा देउवानिवास बूढानीलकण्ठमा बसेको थियो। बैठकमा दर्जनभन्दा बढी केन्द्रीय सदस्य सहभागी भएको बताइएको छ।
छलफलमा सहभागीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न सुझाव दिएका थिए। बैठकमा छलफलमा सहभागी एक नेताले भने,‘सभापति फेरि उठ्ने देखिन्छ। उहाँको कुरा सुन्दा पछि हट्ने सम्भावना देखिँदैन।’ केही केन्द्रीय सदस्यले सभापतिमा पुनः दोहोरिनुपर्ने मत राखेका थिए।
बैठकमा प्रदेश १ का केन्द्रीय सदस्यहरु सहभागी भएका थिए। उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. डीला संग्रौला, मीन विश्वकर्मा, सीता गुरुङलगायतका केन्द्रीय सदस्य सहभागी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।