काठमाडौं- नेकपा (एमाले) विवादमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालबाहेक अरु नेताले गर्ने संवाद मान्य नहुने र त्यसको अर्थ पनि नहुने नेपालपक्षका एक नेताले बताएका छन्। पार्टी विवादमा दुवै पक्षका नेताहरुले संवाद जारी राखेको विषयमा नेपालपक्षकै नेताहरुले आपत्ति जनाउन थालेका छन्।
एमाले विवाद मिलाउन भन्दै दुवैपक्षका दोस्रो तहका नेताहरु पटक-पटक वार्तामा बसिरहेका छन्। उनीहरुले वार्ता सहमतिनजिक पुगिसकेको दाबी पनि गर्दै आएका छन्। ओलीपक्षबाट महासचिव ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल तथा नेपालपक्षबाट घनश्याम भुसाल, योगेशकुमार भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट पार्टी एकता कायम राख्न सक्रिय छन्।
‘ओली र नेपालपक्षबीच सहमति हुन थाल्यो/भयो जस्ता समाचार आइरहेका छन्। नेपालपक्षबाट चारजना नेतालाई वरिष्ठ नेताद्वयसँग सल्लाह गरेर वार्तामा पठाइएको होइन। उहाँहरु व्यक्तिगत रुपमा ओलीपक्षका नेताहरुलाई भेट्नुहुन्छ, कुराकानी गर्नुहुन्छ। त्यो छलफलको कुनै औचित्य र अर्थ छैन,’ नेपालपक्षका एक जना नेताले भने। पार्टीमा औपचारिक सहमति जुटाउन अध्यक्ष औली र नेपाल-खनालसहित शीर्ष नेताहरु बस्नुपर्ने ती नेताको भनाइ छ। शीर्ष नेताहरुको छलफलले मात्र विवाद टुंग्याउन सकिने उनले दाबी गरे।
हाल नेपालपक्षबाट सक्रिय चारजना नेताले ओलीपक्षका नेताहरुसँग सहमति गरे पनि त्यसले कुनै असर नगर्ने ती नेताले बताए। कतिसम्म भने, उनीहरुले गरेका भेट, छलफल र वार्ता मुलतः आफ्नो व्यक्तिगत सम्बन्ध सुधार्ने र त्यसकै आधारमा ओलीपक्षमा लाग्ने पृष्ठभूमि तयार पार्ने रहेको आरोप पनि उनले लगाए। उनका अनुसार पार्टी कमिटीमा छलफल गरेर वार्ता कमिटी नबनेको र चार नेताले वरिष्ठ नेता नेपाललाई जानकारीसमेत गराउने गरेका छैनन्।
केही समयअघि बसेको नेपालपक्षका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा चारजना नेता (घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट)को भूमिकालाई लिएर गम्भीर प्रश्न उठाएका थिए। प्रश्न उठेपछि उनीहरुले 'को क्रान्तिकारी भन्ने समयक्रममा देखिने' जवाफसमेत दिएका थिए।
नेपालपक्षमा रहेका एमाले स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पनि पार्टी मिलाउन भन्दै संयुक्त बैठक बस्नुको कुनै अर्थ नभएको टिप्पणी गरे। सर्वोच्च अदालतले दोस्रो पटक संसद् पुनर्स्थापना गर्ने संकेत देखाएकाले एमाले मिलाउन ओली सक्रिय भएको जस्तो देखिएको दाबी उनले गरे। ‘केपी कमरेड गम्भीर भई एमाले मिलाउन लाग्नुभएको होइन। आफ्नो पद जोगाउने नाटक गर्दै हुनुहुन्छ,’ ज्ञवालीले भने, ‘यदि, एमाले मिलाउने भए पार्टीका सम्पूर्ण कमिटी जेठ २ मा फर्काउनुपर्छ र अरु विषयबारे प्याकेजमा सहमति खोजिनुपर्छ।’
एमाले मिलाउने भन्दा नेपाल-खनालपक्षका बीचधारका नेताहरुलाई आफ्नो पक्षमा पार्न ओलीले छ बुँदे पासा फालेको उनको आरोप छ।
नेपाल-खनालपक्षका चार नेतामै छैन एकमत
एमाले मिलाउन सक्रिय रहेका भनिएका नेपालपक्षका चार जना नेताबीच नै पछिल्लो समय औपचारिक संवादबाहेक गम्भीर छलफलसमेत हुन छाडेको बताइन्छ। कारण, चार नेतामध्ये दुई नेता एकातिर र दुई नेता अर्कैतिर देखिएको टिप्पणी हुनथालेको छ।
‘घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पद लेनदेन गरेर भए पनि सकेसम्म एमाले मिलाउने पक्षमा हुनुहुन्छ। अरु सैद्धान्तिक विषयलाई छलफल गर्दै महाधिवेशनसम्म गएर टुंग्याउनुपर्छ भन्ने छ,’ ती नेताले भने, ‘तर, गोकर्ण विष्ट र र योगेश भट्टराई एमाले विवाद जसरी भए पनि अहिले नै मिलाउनुपर्छ भनेर लागिरहनुभएको छ। उहाँहरु यदि एमाले विभाजन हुने भयो भने ओलीतिरै लाग्नुपर्छ भन्ने निचोडमा पुग्नुभएको देखिन्छ।’
पछिल्ला केही अन्तर्वार्तामा पनि उनीहरुको यस्तो मनस्थिति झल्किन्छ। ओलीपक्षका नेताहरुसँग निरन्तर संवादमा रहेका उनीहरुबारे नेपालपक्षमा भने संशय बढ्दै गएको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।