काठमाडौं- नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई अझ बलियो बनाएर जाने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रुपमा अगाडि बढ्ने निर्णय गरेको हो।
संविधान, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि विपक्षी गठबन्धनलाई बलियो बनाएर जाने निर्णय भएको कांग्रेस सहमहामन्त्री प्रकाशरण महतले बताए।
‘वर्तमान ओली सरकारले जसरी लोकतन्त्र, संविधानको मूल्य र मान्यतालाई एकपछि अर्को गरेर कमजोर गर्ने काम भएको छ त्यसको विरुद्ध लोकतन्त्रमा विश्वास गर्ने र संविधानमा विश्वास गर्ने पार्टीहरु र समूहहरुलाई जोड्ने, एकताबद्ध बनाएर लाने निर्णय आजको बैठकले गरेको छ’, महतले भने।
बैठकले कांग्रेसले १४औँ महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय पनि गरेको छ। कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिका/नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते अधिवेशन गर्ने निर्णय गरेको छ।
त्यस्तै, प्रदेश अधिवेशन भदौ १ र २ गर्ने निर्णय गरिएको पनि महतले बताए। उनले कोरोना कहरको बेलामा कसरी महाधिवेशन सम्पन्न गर्न सकिन्छ भन्ने सम्बन्धमा विभिन्न विधिहरुको विषयमा छलफल भइरहेका जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।