काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले भू–उपयोग नीतिलाई कडाइका साथ लागू गरेर खेतीयोग्य जमिन शहरीकरण हुनबाट रोक्नुपर्ने बताएकी छन्।
शुक्रबार कृषि विभाग र नेपाल कृषि महासंघले संयुक्त रुपमा आयोजना गरेको समृद्ध नेपालका लागि कृषिको आधुनिकीकरण विषयक अन्तरक्रियामा बोल्दै कृषि मन्त्री साहले कृषक र कृषिकै हितको निम्ति भू–उपयोग नीति ल्याइएको भन्दै यसलाई कडाइका साथ कार्यान्वयन गरेर अघि बढ्नुपर्ने बताइन्।
‘भू–उपयोग नीतिलाई कडाइका साथ लागू गरेर जाने हो भने सायद जग्गाहरु खण्डीकरण गरेर शहरीकरण गर्ने काम भइरहेको छ यसलाई रोक्नुपर्छ। यसलाई कडाइका साथ लागू गरेर कृषिमा जोड दिन जरुरी छ।’
भू–उपयोग नीति लागू गर्दा खेतियोग्य भूमि शहरीकरण हुन रोकिने उनको भनाइ थियो। मन्त्री साहले किसानलाई सूचिकृत गरी राज्यको तर्फबाट दिइनुपर्ने सेवा सुविधा दिन मन्त्रालय लागिरहेको बताइन्।
‘किसानहरुलाई सूचिकृत कहिलेसम्म गर्ने र कहिलेसम्म व्यवहारत्ः राज्यको तर्फबाट सुविधा पाउनुपर्ने। त्यो कहिलेसम्म मिलाउन सकिने हो । हामी सबै चिन्तित छौँ र मेहनतको साथअघि बढीरहेको अवस्था छ । चुनौती पनि उत्तिकै छ’ उनले भनिन्।
मन्त्री साहले बेरोजगार युवाहरुलाई विदेश जानबाट रोक्नका लागि कृषिमा क्रान्ति ल्याउनुपर्ने बताइन्। उनले माटोको परिक्षण गर्नका लागि ‘सोयल हेल्थ कार्ड’ को व्यवस्था गर्नु जरुरी रहेको बताइन्। सोयल हेल्थ कार्डको व्यवस्था गर्न सके कस्तो खालको माटो छ र त्यस अनुसार मलको प्रयोग गर्न सकिने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।