काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता दाबी गरेको छ।
अध्यक्ष यादवसिहतका पदाधिकारी शुक्रबार दिउँसो आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थाअनुसार आधिकारिकता दाबी गरेका हुन्। उनीहरूको पत्र आयोगमा दर्ता भएको छ। दर्ता नम्बर १३९६ रहेको छ।
जसपाको अहिलेको कार्यकारिणी समितिमा भट्टराई-यादव पक्षको बहुमत छ। बिहीबार बसेको कार्यकारिणी समितिको बैठक आधिकारिकता दाबीका लागि पुन: आयो जाने निर्णय गरेको थियो।

यसअघि ठाकुर पक्ष र यादव पक्षले एक अर्कालाई कारबाही गरेको जानकारी निर्वाचन आयोगमा बुझाएको थियो। यादवले बहुमत कार्यकारिणीको हस्ताक्षरसहित कारबाहीको पत्र बुझाएका थिए भने ठाकुर पक्षले यादवलाई कारबाहीको पत्र मात्रै आयोगमा बुझाएको थियो। आयोगले दुवै पक्षको मागलाई अस्वीकार गरेको थियो।
त्यस्तै, बिहीबार बसेको अध्यक्ष यादव पक्षको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णयसमेत गरेको थियो।
यसअघि अध्यक्ष यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको थियो। लुम्बिनी प्रदेशका चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि बैठकले गरेको थियो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।