काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफ्नै पार्टीको सरकार र सरकारसँग जोडिएका मानिसहरुको व्यवहार सही नभएको टिप्पणी गरेका छन्।
बाढीबाट प्रभावित सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा राहत वितरणका लागि जान लागेका आफू पक्षधर अनेरास्ववियुका नेताकार्यकर्तालाई शुक्रबार निर्देशन दिँदै नेता नेपालले आफ्नै सरकारसँग जोडिएका मानिसहरुको व्यवहार सही नभएको बताएका हुन्। ‘विडम्बना हाम्रो आफ्नै सरकार र सरकारसँग जोडिएका मानिसहरुको व्यवहार देखिरहेका छौं’ नेता नेपालले भने।
उनले स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको पनि आलोचना गरे। बुधबार बाढी प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत निरीक्षणमा पुगेका मन्त्री तामाङले जुन ढंगले काम गर्नुपर्ने हो त्यो नगरेको नेता नेपालको भनाइ थियो। यसअघि नेपाल समूहमा रहेका तामाङ अध्यक्ष केपी शर्मा ओलीपक्षमा लागेका थिए।
‘मेयरले पनि भन्नु भएको छ, त्यही क्षेत्रको मन्त्री हेलिकोप्टरमा गएर जुन ढंगले लिनु पर्ने हो त्यो नलिएको मैले सुनें’ नेता नेपालले भने, ‘हाम्रै मान्छेले पनि बेठिक काम गर्छन् भने विरोध गर्नुपर्छ, भने अरुले राम्रो काम गर्छ भने त्यसलाई स्यावास भन्नै पर्छ। राम्रो काम गर्ने जो सुकै किन नहोस् त्यसको वदख्वाइ गर्ने होइन, नराम्रो काम गर्ने जो सुकै किन नहोस् त्यसलाई क्याबात क्याबात भन्ने होइन।’
राहत वितरणमा जान लागेको टोलीलाई नेता नेपालले बाढीबाट सबैभन्दा बढी पीडामा परेका नागरिकको पहिचान गरी राहत वितरण गर्न निर्देशन दिए। उनले बेसाहारा र असहायलाई पहिलो प्राथमिकता दिन अनुरोध गरे।
अनेरास्ववियुले जनताको पीडालाई आफ्नो पीडा ठानेर समस्या समाधानको निम्ति अग्रसरता लिएकोमा उनले धन्यवाद व्यक्त गरे। बाढीग्रस्त हेलम्बु गाउँपालिकामा १० लाख बराबरको राहत सामग्री वितरण गरिने अनेरास्ववियुले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।