एमाले कर्णाली प्रदेश संसदीय दलकाे बैठक। फाइल तस्वीर।
काठमाडौं- नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलले माओवादी केन्द्र नेतृत्वको सरकारमा रहेका आफ्नो पार्टीका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ।
शुक्रबार बसेको संदीय दलकाे बैठकले तीन मन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको हो।
संसदीय दलको बैठकले मन्त्रीहरू अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई राजीनामा दिन निर्देशन जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक गुलाबजंग शाहले नेपाल लाइभलाई बताए।
थापा, शाही र बुढा वैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर मन्त्री बनेका थिए।
त्यसपछि एमालेले उनीहरूलाई कारबाही गरेको थियो। त्यसविरुद्ध उनीहरू सर्वाेच्च अदालत पुगेका थिए। हालै सर्वाेच्च अदालतले कारबाही खारेज गरेर उनीहरुलाई पुनर्वहाली गरेको थियो।
'पार्टीको नीतिविपरीत उहाँहरू सरकारमा रहिरहनु भनेको सर्वाेच्चको आदेशको समेत पालना नगरेको ठहर्छ। त्यसकारण हामीले राजीनामा दिनका लागि निर्देशन दिने निर्णय गरेका हाैं', शाहले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।