काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघले पछिल्ला दिनमा व्यवसायीमाथि आक्रमण तथा लुटपाटका घटना बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस किसिमका घटना एकपछि अर्को दोहोरिँदै जानुले मुलुकको शान्ति सुरक्षाको अवस्थाप्रति नै गम्भीर चुनौती खडा गरेको महासंघको भनाइ छ।
‘करिब एक महिना अगाडि व्यवसायीको ज्यानै जानेगरी सिराहामा भएको सुनचाँदी व्यवासयीको हत्या र लुटपाटको घटना सेलाउन नपाउँदै पुनः महोत्तरी जिल्लाको सम्सी गाउँपालिका वडा नं १ मा त्यस्तै प्रकृतिको अर्को घटना दोहोरिएको छ। लुटेरा समूहले राजिप ज्वेलर्सका सञ्चालक वीरेन्द्र साहलाई बुधबार राति करिब १२ बजेको समयमा गोली हानी गम्भीर घाइते बनाउनुका साथै परिवारका अन्य सदस्यलाई समेत रड तथा खुकुरी प्रहार गरी सख्त घाइते बनाएका छन्,’ महासंघको विज्ञप्तिमा उल्लेख छ।
सञ्चालक साह तथा परिवारका अन्य सदस्यहरूलाई घाइते बनाएपछि उनीहरूले पसल तथा घरमा रहेका सुन तथा चाँदी र गरगहनासमेत लुटेर लगेको महासंघले जनाएको छ।
‘व्यवसायीमाथि यसरी एकपछि अर्को गरी हमला तथा लुटपाट गरिन थालेको घटनाले समग्र सुनचाँदी व्यवसायीलाई हतोत्साही र चिन्तित बनाएको मात्र नभइ व्यवसाय सञ्चालन गर्ने मनोवल नै खस्किएको छ। यस्ता घटनाले आम सुनचाँदी व्यवसायीमात्र नभई समग्र उद्यमी व्यवसायी र पेसाकर्मीलाई नै चिन्तित तुल्याएको छ,’ महासंघले भनेको छ।
यस्तो घटनाको विषयमा सरकार एवं सुरक्षा निकायको गम्भीररूपमा ध्यानाकर्षण गराउँदै दोषीको अविलम्ब पत्ता लगाइ कडाभन्दा कडा कारबाही गर्नुका साथै आगामी दिनमा यस्ता घटना हुन नदिन माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।