काठमाडाैं– नेपाली कांग्रेसको स्थानीय तहमा संगठन समयोजन सात जिल्लामा टुंगिन सकेको छैन। निर्वाचन समितिले टुंगाएर केन्द्रीय समितिलाई बुझाएका नामावलीमा उजुरी परेपछि समस्या फेरि व्युँतिएको हाे।
केन्द्रमा प्रदेश २ का ६ जिल्ला र लुम्बिनीको एक जिल्लाबाट उजुरी परेको थियो। सप्तरी, धनुषा, सर्लाही, बाँके, सिरहा, बारा तथा पर्सा जिल्लाबाट उजुरी र गुनासा केन्द्रमा परेको छ। निर्वाचन समितिले गत चैतमा ती जिल्लामा समयोजन सकिएको प्रतिवेदन केन्द्रीय कार्यालयमा पेश गरेको थियो।
प्रादेशिक संरचना अनुसार संगठन बनाउन पार्टीले अघिल्लो कार्यसमितिलाई स्थानीय तह अनुसार समायोजन गर्ने निर्णय गरेको थियो। समयोजन गर्नका लागि पार्टीले निर्देशिकासमेत तयार गरी तल्लो तहमा पठाएको थियो। उक्त निर्देशिका अनुसार संगठन समायोजन नभएको उजुरी परेका हुन्।
प्राप्त गुनासाहरुको निर्णय गरिसक्दासमेत निर्देशिका बमोजिम भएन भनी पटक–पटक निर्वाचन समिति समक्ष उजुरी आएको जनाइएको छ। प्राप्त उजुरी र गुनासालाई केन्द्रीय निर्वाचन समितिबाट केन्द्रीय कार्यसमितिमा पठाइएको छ।
पार्टी अन्तरिम संरचना समायोजनका लागि तयार गरिएको निर्देशिका अनुसार नभएकाले उक्त जिल्लाका समायोजन टुंगाउन पुनः निर्वाचन समितिलाई जिम्मेवारी दिइएको हाे। निर्वाचन समितिलाई साउन १० गतेसम्मको कार्यअवधि दिइएको छ। ‘स्थानीय तह संगठन पुनर्संरचना अन्तरिम निर्देशिका २०७६ बमोजिम नभएको सन्दर्भमा सोही निर्देशिका बमोजिम हुने गरी २०७८ असार १० गतेभित्र केन्द्रीय निर्वाचन समितिले नै टुंगो लगाई पार्टी समक्ष पेश गर्न’ केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकले निर्णय गरेको छ।
बिहीबार देखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा स्थानीय तहको अधिवेशन साउन १२ गतेदेखि सुरु गर्ने गरी प्रस्ताव पेश गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।