काठमाडौं– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आज (शुक्रबार) विश्वासको मत लिँदै छन्। बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने भएका हुन्।
यसअघि प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गरेका कांग्रेस संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख सीता पौडेलले गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।
मुख्यमन्त्री पोखरेललाई कांग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन छ।
यसअघिका मुख्यमन्त्री एमालेका पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकी पदबाट हटेका थिए।
विपक्षमा एमालेका २७ सांसद रहेका छन्। जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएसँगै प्रदेशसभा ५९ सदस्यीय बनेको छ।
मुख्यमन्त्री बनेकै दिन पोखरेलले पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। उनले आफूबाहेक अन्य सबै मन्त्रीलाई विनाविभागीयमा राखेका छन्।
अब विश्वासको मत लिएपछि मन्त्रीहरूको कार्य विभाजन गर्ने तथा अन्य मन्त्री थप गर्ने उनको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।