काठमाडौं- जनता समाजवादी पार्टी (जसपाले) लुम्बिनी प्रदेश सभाका आफ्ना चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने भएको छ।
बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ती सांसदलाई पुन: स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले बताए। जसपा सांसदहरू सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयलाई स्पष्टीकरण सोध्ने निर्णय भएको हो।
यसअघि पनि उनीहरुलाई स्पष्टीरण सोधिएको थियो। जवाफ चित्तबुझ्दो नआएपछि उनीहरू कारबाहीमा परेका थिए। तर, सर्वाेच्च अदालतले उनीहरूलाई पुनर्बहाली गरिदिएको थियो। यी चारै सांसद जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका हुन्।
सर्वाेच्चले पुनर्बहाली गरेपछि उनीहरूले एमाले नेतृत्वको प्रदेश सरकारकाे नीति तथा कार्यक्रमका पक्षमा मतदान गरेका थिए। नीति तथा कार्यक्रमको पक्षमा मतदान नगर्न जसपा प्रदेश संसदीय दलले जारी गरेको ह्वीप उनीहरूले उल्लंघन गरेका थिए।
जसपाको बिहीबारकै बैठकले पार्टीको आधिकारितकता लागि आइतबार निर्वाचन आयोग जाने, केपी ओली नेतृत्वको सरकारमा सहभागी ९ मन्त्रीलाई कारबाही गर्ने निर्णय गरेको छ।
यस्तै, बाढी पहिरोमा परेकाको उद्धारका लागि खट्न नेता कार्यकर्तालाई निर्देशन दिने र बाढी पहिरो पीडितलाई उद्धार र राहतका लागि सरकारसँग आग्रह गर्ने निर्णय पनि गरेको थियो।
बैठकले चुरे दोहन गर्न नहुने निष्कर्ष पनि निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।