काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष फेरि निर्वाचन आयोग जाने भएको छ। जसपाको आधिकारिकता दाबी गर्दै बाबुराम–उपेन्द्र पक्षका सबै कार्यकारिणी समिति सदस्य निर्वाचन आयोग जाने भएका हुन्।
आधिकारिकता दाबी गर्दै आइतबार आयोग जाने निर्णय भएको एक कार्यकारिणी सदस्यले बताए। बिहीबार बाबुराम-उपेन्द्र पक्षको कार्यकारिणी समितिको बैठक बसेको थियो।
वर्तमान कार्यकारिणी समितिमा बाबुराम-उपेन्द्र पक्षको बहुमत छ। तर, हालै ठाकुर पक्षले एकतर्फीरुपमा कार्यकारिणी समितिमा १७ जना थप गरेका छन्। जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा बिहीबारको बैठकमा ३० जना उपस्थित थिए।
यसअघि जसपाका दुवै पक्षले कारबाही गरे अनुसार दल दर्ता पुस्तकमा अद्यावधिक गर्न निवेदन दिएका थिए। तर, आयोगले दुवै पक्षको दाबी अस्वीकार गरेको थियो।
ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन थालेपछि पार्टीभित्र बिग्रिएको सम्बन्ध सो पक्ष सरकारमै सामेल भएपछि झनै तिक्त बनेको छ। ठाकुर पक्षले यसअघिका कार्यकारिणी समितिका बैठक पनि टार्दै आएको थियो।
जसपा दुई पक्षमा विभाजित भइसकेको छ। भट्टराई-यादव पक्षले महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका चार जनालाई पार्टीबाट निष्कासन गरेको छ। साथै, ९ जनालाई साते दिने स्पष्टीकरण सोधेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।