काठमाडौं- नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले बाढी, पहिरो र डुबानमा परेकाहरूकाे उद्धार र राहतमा जुट्न पार्टीपंक्तिलाई आह्वान गरेको छ।
नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूले बिहीबार विज्ञप्ति जारी गर्दै राज्यका सबै अंगहरु, सम्पूर्ण पार्टी, जनसंगठनहरु, जनप्रतिनिधिहरु, पार्टी सदस्यहरु, नागरिक समाज तथा सबै सामाजिक संघसंस्थालाई उद्धार र राहतका काममा जुट्न आग्रह गरेका हुन्।
उनीहरूले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेहरुको उपचार र मृतकका परिवारलाई आर्थिक सहयोग लगायतका उद्धार र राहतका कार्यहरु प्रभावकारी, निष्पक्ष र पारदर्शीरुपमा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
'वर्षायाममा प्रत्येक वर्षजसो नेपाली जनताले ब्यहोर्दै आएको बाढी, पहिरो र डुबानको समस्या समाधान गर्न नेपाल सरकारले जिम्मेवारीपूर्वक कुनै पूर्वतयारी गरिएको नदेखिनु दुःखको विषय हो। यस्तो स्थितिमा तुरुन्त परिवर्तन हुनुपर्छ', विज्ञप्तिमा भनिएको छ।
आगामी दिनहरुमा समस्या अझै गम्भीर हुने सम्भावना रहेकाले यसका निम्ति समयमै विशेष व्यवस्था गर्नुपर्ने बारेमा राज्यका सम्पूर्ण निकायहरु, जनप्रतिनिधिहरु तथा आम जनसमुदायले ध्यान दिनुपर्ने उनीहरूले भनेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।