काठमाडौं- विपक्षी गठबन्धन आवद्ध राजनीतिक दलले बाढी, पहिरो र डुबान पीडितको उद्धार र राहतको काम प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्।
बिहीबार विज्ञप्ति जारी गर्दै उनीहरुले बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन सरकारसँग माग गरेका हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा सरकार प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्वतयारी नगरी गैरजिम्मेवार बनेको टिप्पणी गरिएको छ।
‘इमान्दारी, तदारुकता र पारदर्शीरुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘यस्तो गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडित जनसमुदायलाई सहयोग पुर्याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघसंस्थाहरुलाई हामी हार्दिक आह्वान गर्दछौं।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।