बाढी प्रभावित क्षेत्रको अनुगमनका क्रममा राप्रपा अध्यक्ष राणा।
सिन्धुपाल्चोक- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शम्शेर राणाले सिन्धुपाल्चोकका बाढी पीडित क्षेत्रका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
बुधबार बाढी प्रभावित क्षेत्रका जनतासँग कुराकानी गर्ने क्रममा राणाले व्यक्तिगत रुपमा आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता पनि जनाए। सिन्धुपाल्चोक जिल्लाका बाढी पीडित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा राणा मेलम्ची, तिम्बु, किउल, चनौते, ग्याल्थुम, याङ्ग्री र हेलम्बु लगायतका स्थान पुगेका थिए।
‘प्राकृतिक विपत्तिको मारमा परेका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारले कुनै विलम्ब गर्नु हुँदैन। अविरल वर्षाबीच जनधनको क्षति र जोखिम कायम रहेकोले आपतकालीन परिचालन गर्न सरकारलाई आह्वान गर्दछु,’ राप्रपा अध्यक्ष राणाले भने।
राप्रपा अध्यक्ष राणाले राहत तथा उद्धारका विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग मेलम्चीमा छलफल गरे। यसैगरी, सभामुख सापकोटा, प्रदेश सांसद, नगर प्रमुख लगायतको उपस्थितिमा सर्वपक्षीय वैठक बसेर आपतकालीन निकासका लागि पहल गरे।
बाढी पीडित जनताको उद्धार र राहत कार्यमा क्रियाशील हुन राप्रपाका स्थानीय निकायहरुलाई अध्यक्ष राणाले निर्देशन समेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।