काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले उद्योगी तथा व्यवसायीहरूलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
चेम्बरले विज्ञप्ति जारी गरी कोराना महामारीबाट प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन अग्रपंक्तिमा कार्यरत उद्योगी तथा व्यवसायीलाई खोप उपलब्ध गराउन माग गरेको हो।
‘कोरोना भाइरसको दोस्रो लहरले विश्वव्यापी अर्थतन्त्रलाई प्रभावित बनाएको छ। नेपाल जस्तो अति कम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकको लागि यसको प्रत्यक्ष प्रभाव निजी क्षेत्रमासमेत परेको छ,’ चेम्बरले भनेको छ, ‘मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजस्वमा योगदान पुग्न जाने हुन्छ।’
दोस्रो चरणको महामारीले समस्त उद्योगी तथा व्यवसायीहरूलाई आक्रान्त तुल्याएको बताउँदै चेम्बरले समयमै कोरोनाविरुद्धको खोप उपलब्ध नहुँदा अग्रपंक्तिमा कार्यरत व्यावसायिक क्षेत्रको आत्मवलमा ह्रास आएको जनाएको छ।
‘अहिले मुलुकमा लकडाउन भई अधिकांश व्यवसायहरू बन्द अवस्थामा रहेका छन् भने अर्कोतर्फ कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध नभएकोले यसबाट उत्पन्न विषम् परिस्थितिका कारण उद्योग व्यवसाय सञ्चालन गर्नसमेत चुनौतीपूर्ण अवस्था सिर्जना हुन गएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।