काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले एमालेको एकताका लागि आह्वान गरेका छन्। उनले अहंकार र बदलाभाव त्यागेर एकताबद्ध हुन आह्वान गरेका छन्।
बुधबार उपचारका लागि दिल्ली जाँदाजाँदै खनालले एकताको आह्वान गरेका हुन्। राजनीतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख रहेको र त्यही अन्तरसंघर्षको परकम्पन एमालेमा पनि देखिएको खनालले उल्लेख गरेका छन्।
'जनताको चाहना र अपेक्षा विपरीत हामीमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ। देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको छ', बुधबार खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'विगतमा हामी सबै मिलेर ठूलाठूला सफलताहरु प्राप्त गरेको स्मरण गरौं। एकता सफलताको बाटो हो भने फुट बिनासको। त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीका वैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चहान्छु।'




टुट-फुट र विभाजन नभइ एकता गर्ने गराउने कार्यमा अगाडि बढ्न खनालले सबैमा आह्वान गरेका छन्। 'राष्ट्रिय एकता-अखण्डता, लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपूर्ण अवस्था हो। त्यसैले, देशका प्रमुख दलहरु र तिनका नेताहरूबीचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साँध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ। हामी सबै एकजुट भएर मुलुकका मुलभूत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु', खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
दिल्ली जानुअघि खनालले एमाले महासचिव ईश्वर पोखरेललाई पनि पार्टीलाई एकताबद्ध बनाउनका लागि लाग्न आग्रह गरेका थिए। पोखरेल खनाललाई भेट्न नर्भिक अस्पाल पुगेका थिए। स्वास्थ्यमा समस्या भएपछि खनाल सोमबार अस्पताल भर्ना भएका थिए। तर, थप उपचार गर्नुपर्ने भएपछि उनी दिल्ली प्रस्थान गरेका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।