काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले महासचिव ईश्वर पोखरेललाई पार्टीलाई एकताबद्ध बनाउने पहल गर्न आग्रह गरेका छन्।
नर्भिक अस्पतालमा उपचाररत नेता खनाललाई भेट्न पुगेका महासचिव पोखरेललाई खनालले एमालेलाई मिलाउनेतर्फ लाग्न आग्रह गरेका हुन्।
महासचिव पाेखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार भेटमा नेता खनालले पोखरेललाई भने- ‘तपाईंले पार्टी मिलाउनुस् कमरेड !’
जवाफमा महासचिव पोखरेलले खनालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस विषयमा सरसल्लाह गरेर अघि बढ्ने बताए। ‘तपाईं छिट्टै निको भएर आउनुस् अनि सल्लाह गरौं!’, महासचिव पोखरेलले भने।
पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि बुधबार भारतको नयाँ दिल्ली लगिँदैछ।
स्वास्थ्यमा सुधार नभएको र कतिपय रिपोर्ट दिल्लीबाट आउन ढिला हुने भएका कारण नेता खनाललाई थप उपचारका लागि भारत लैजान लागिएको एमालेका केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।