काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरो प्रभावितको युद्धस्तरमा उद्धार र राहतका लागि अपिल गरेका छन्।
विभिन्न जिल्लामा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको भन्दै सभापति देउवाले सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै युद्धस्तरमा उद्धार र हराएकाहरुको खोजीमा सक्रियताका साथ लाग्न आग्रह गरेका छन्।
'युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, मानिसहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न म सरकारलाई आग्रह गर्दछु,' बुधबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले भनेका छन्।
स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकिएको भन्दै देउवाले पार्टीका नेता कार्यकर्तालाई ब्यवस्थित ढंगले कार्य गर्न थप आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न अपिल गरेका छन्।
तीन वटै तहका सरकारहरुलाई जरुरी समन्वय र ब्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारी गर्न उनले अपिल गरेका छन्।
बाढी पहिरोको जोखिम अबका केही दिनमा थप बढ्न सक्ने पूर्व घोषणा दृष्टिगत गरेर देशभर सबैलाई सजग भएर यसको सामना गर्न देउवाले आग्रह गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।