काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले बाढी र पहिरोमा परि हराइरहेकाहरुको तत्काल उद्धार र राहतकार्य प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन्।
केही दिन अघिदेखि परेको अविरल वर्षासँगै देशका विभिन्न भागहरुमा बाढी र पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रचण्डले हराइरहेकाहरुको खोजी गर्न सरकारसँग आग्रह गरेका हुन्। उनले बाढीपहिरोमा परि ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताहरुको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सम्बन्धित सबैमा अनुरोध गरेका छन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष 'प्रचण्ड'ले सरकारी रबैयाका कारण बाढी पहिरोमा धनजनको ठूलो क्षति भएको आरोप लगाए। 'मौसमविद्हरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको वेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भएको हो' प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बाढी–पहिरोले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागहरुमा धनजनको ठूलो क्षति भएको छ भने कोशी, नारायणी, सेती, कमला, तिनाउ, कर्णाली, महाकाली लगायतका नदीहरुमा पानीको बहाव उच्च भई बस्तीहरु डुब्ने खतरा पैदा भएको भएको उनले उल्लेख गरेका छन्।
हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालिन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग प्रचण्डले आग्रह गरेका छन्। राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशनसमेत दिएका छन्।
राहत र उद्धार कार्यमा जुटिरहेका सुरक्षाकर्मी, समाजसेवी र अन्य स्वयंसेवी जनसमुदायहरुको सक्रियताप्रति उनले धन्यवाद दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।