काठमाडौं- गण्डकी प्रदेश सरकारले प्रदेशका हरेक स्थानीय तहलाई एक/एक करोड बजेट विनियोजन गरेको छ। मंगलबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले स्थानीय तहको क्षमता अनुसार वित्तीय समानीकरणका लागि अनुदानतर्फ १ अर्ब १० करोड विनियोजन गरेको बताए।
यस्तै, समपूरक, विशेष अनुदान लगायतका स्थानीय तहमा जाने बजेटको निरन्तरता गरिएको उनले बताए। सवारी साधन करबाट प्राप्त राजश्वबाट स्थानीय तहलाई ६० करोड हस्तान्तरण हुने पनि उनले बताए।
कोरोना खोपको लागि आवश्यक बजेट विनियोजन गरिएको मुख्यमन्त्री पोखरेलले बताए। प्रदेश अन्तर्गतका सबै स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्न आवश्यक बजेट व्यवस्था गर्ने भनिएको छ।
सुत्केरी हुन नसकेर समस्यामा परेका दुर्गम क्षेत्रका महिलालाई एयर लिफ्टिङमार्फत् सुविधा सम्पन्न अस्पता लगिने कार्यक्रम पनि बजेटमा समेटिएको छ। बहुक्षेत्रीय पोषण सेवा कार्यक्रमलाई निरन्तरता दिन १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ।
सबै जिल्ला अस्पताललाई २५ देखि ५० शय्या र धौवालगिरी अस्पताललाई २०० बेड क्षमतामा स्तरोन्नति गरिने, २ देखि ५ बेड क्षमताको सघन उपचार कक्ष तयार गरिने, गोरखाको आँपपिपल अस्पताललाई ५० शय्याको अस्पताल बनाउने, गण्डकी प्रादेशिक अस्पताल ५०० क्षमताको बनाउने गरी विस्तृत अध्ययन गरिने, उपचार गर्न नसक्नेहरुका लागि मासिक ४ हजार उपलब्ध गराउने विषय पनि बजेटमा समेटिएका छन्।
६५ वर्ष माथिका नागरिकलाई नि:शुल्क उपचारको व्यवस्था गर्ने, 'स्वास्थ्य बीमा, सरकारको जिम्मा' कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य स्वयंसेविकालाई वार्षिक ६ हजार भत्ता उपलब्ध गराउने पनि मुख्यमन्त्री पोखरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।