काठमाडौं- नेकपा (एमाले)ले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएको छ।
मंगलबार दिउँसो बसेको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक गुलाबजंग शाहले बताए।
उनका अनुसार विपक्षमा मतदान गर्न एमाले सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय पनि भएको छ। कर्णालीमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफल सोमबार सकिए पनि मुख्यमन्त्रीले जवाफ दिने र पारित गर्ने निर्धारित कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भएको थियो।
प्रदेश सभा बैठक अहिले केहीबेरमा बस्दैछ। दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची छ।
दलको बैठकमा सर्वोच्च अदालतले पुनर्बहाली गरेका एमालेका चार सांसदमध्ये प्रकाश ज्वाला उपस्थित भएका थिए। अन्य तीन सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा भने बैठकमा सहभागी भएनन्। उनीहरु तीनै जना प्रदेश सरकारमा मन्त्री रहेका छन्।
प्रदेश सभामा एमालेका सभामुखसिहत २० सांसद छन्। माओवादीका १३ र कांग्रेसका ६ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।