काठमाडौं- नेकपा (एमाले) कर्णाली प्रदेश सभा संसदीय दलको बैठक सुरु भएको छ। बिहान ८ बजेका लागि तय बैठक मध्यान्ह साढे १२ बजेपछि बसेको हो।
सर्वोच्च अदालतले पुनर्बहाली गरेका एमालेका चार सांसदमध्ये प्रकाश ज्वाला बैठकमा उपस्थित भएका हुन्। अन्य तीन सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा भने बैठकमा सहभागी छैनन्। उनीहरु तीनै जना प्रदेश सरकारमा मन्त्री रहेका छन्।
नीति तथा कार्यक्रम प्रदेश सभामा निर्णयार्थ पेश हुनुअघि बैठक बसेको हो।
अदालतको पत्रअनुसार सभामुख राजबहादुर शाहीले सोमबारको बैठकमा ज्वाला, थापा, शाही र बुढा नेकपा (एमाले) प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कायम रहने घोषणा गरेका थिए।
कर्णालीमा माओवादी नेतृत्वको सरकार छ। एमालेका यी चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका थिए।
एमाले संसदीय दलका नेता यामलाल कँडेलले अदालतको फैसलासँगै उनीहरू सरकारबाट फिर्ता हुनुपर्ने बताएका छन्। प्रदेश सभामा एमाले एक्लैको २० सिट पुगेपछि सरकार अल्पमतमा परिसकेको एमालेको दाबी छ। कर्णालीमा सत्तारुढ माओवादीका १२ र कांग्रेसका ६ सांसद छन्।
कर्णालीमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिए पनि मुख्यमन्त्रीले जवाफ दिने र पारित गर्ने निर्धारित कार्यसूचीमा प्रवेश नगरी सोमबारको बैठक स्थगन भएको थियो।
प्रदेश सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।