काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई शुभकामना सन्देशसहितको पत्र लेखेका छन्। सामाजिक सञ्जालमार्फत पत्र सार्वजनिक गर्दै प्रवक्ता शर्माले अहिलेको समय संवेदनशील भएकाले सोचेर कार्य गर्न सुझाव दिएका छन्।
फेसबुकमार्फत सुझाव पत्र सार्वजनिक गर्दै प्रवक्ता शर्माले आलोचित हुनका लागि कुनै गम्भीर विषय आवश्यक नपर्ने भएकोले सही निर्णय गर्न सचेतसमेत गराएका छन्।
कांग्रेसबाट पहिलो मुख्यमन्त्री बनेका पोखरेलाई सम्बोधन गर्दै शर्माले भनेका छन्, ‘आगामी बजेट निर्माण गर्दा अक्सिजन सकिएर अस्पतालमा जीवन गुमाएकी सुत्केरी तथा खर्च अभावमा अस्पतालबाट निकालिएको २१ दिनको शिशुलाई सम्झनु होला।’
पद क्षणिक रहेको भन्दै पदमा रहँदा गरेको कार्य भने स्मृतिमा रहने स्मरण गराउँदै शर्माले प्रश्नलाई प्रोत्साहित र आलोचनालाई स्वागत गर्ने बानी बसाल्नसमेत आग्रह गरेका छन्।
बधाई तथा शुभकामनासहितको सुझाव पत्रमा उनले मुख्यमन्त्रीलाई छायाँको पछि भन्दा पनि ऐनाको सुझाव लिन सुझाएका छन्।
उनले कुनै काम गर्नु अघि पार्टीको नीति र आम जनताको हितलाई ध्यानमा राख्नसमेत आग्रह गरेका छन्। ‘हेक्का रहोस् तपाईंको कर्मसँग पार्टीको आगामी छवि गांसिन्छ। तर नभुल्नोस् संसदीय दलको नेता एउटा पार्टीको हुन्छ, मुख्यमन्त्री सबैको,’ उनले भनेका छन्, ‘प्रदेश सरकारको औचित्य स्थापित गर्ने अवसरलाई सकारात्मक सन्देशले प्राण भर्नोस्।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।