काठमाडौं- नेकपा (एमाले) कर्णाली प्रदेश सभा संसदीय दलकाे बैठक अन्योल बनेकाे छ। बिहान ८ बजेका लागि तय बैठक मध्यान्ह १२ बजेसम्म पनि बस्न सकेको छैन।
नीति तथा कार्यक्रम प्रदेश सभामा निर्णयार्थ पेश हुनुअघि बैठक बस्न लागेको हो । तर, सर्वाेच्च अदालतले पुनर्बहाली गरेका एमालेका चार सांसद उपस्थित नहुँदा बैठक बस्न सकेको छैन।
अदालतको पत्रअनुसार सभामुख राजबहादुर शाहीले सोमबारको बैठकमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा नेकपा (एमाले) प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कायम रहने घोषणा गरेका थिए।
साढे १२ बजेसम्म उनीहरूलाई कुर्ने र त्यसपछि आवश्यक निर्णय गरिने एमाले प्रदेश सभा सदस्य करविर शाहीले बताए।
कर्णालीमा माओवादी नेतृत्वको सरकार छन। एमालेका यी चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकाे सरकार जोगाइदिएका थिए। प्रकाश ज्वालाबाहेक तीन जना प्रदेश सरकारमा मन्त्री छन्।
एमाले संसदीय दलका नेता यामलाल कँडेलले अदालतको फैसलासँगै उनीहरू सरकारबाट फिर्ता हुनुपर्ने बताएका छन्। प्रदेश सभामा एमाले एक्लैको २० सिट पुगेपछि सरकार अल्पमतमा परिसकेको एमालेको दाबी छ।
कर्णालीमा सत्तारुढ माओवादीका १२ र कांग्रेसका ६ सांसद छन्।
कर्णालीमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिए पनि मुख्यमन्त्रीले जवाफ दिने र पारित गर्ने निर्धारित कार्यसूचीमा प्रवेश नगरी सोमबारको बैठक स्थगन भएको थियो।
प्रदेश सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।