कास्की– गण्डकी प्रदेशअन्तर्गतका आठ जिल्लाका कांग्रेस सभापतिले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गरेका छन्। प्रदेशका आठ जिल्लाका सभापति र सचिवले सोमबार प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई सामूहिकरूपमा भेटेर त्यस्तो माग गरेका हुन्।
अहिलेको मुख्य प्राथमिकता कोभिड विरुद्वको खोप भएको हुँदा यसलाई प्राथमिकतामा राख्न जिल्ला सभापतिहरूले अनुरोध गरेका हुन्। भेटका क्रममा सभापतिहरूले खोपसँगै कोभिड प्रभावित क्षेत्रलाई महत्त्व दिन अनुरोध गरेका थिए।
कास्की कांग्रेसका सभापति कृष्ण केसीले सुशासन, विपत् व्यवस्थापन, कोरोना सङ्क्रमित, उनीहरूको परिवार र प्रभावित क्षेत्रलाई राहत हुने गरी बजेट ल्याउन आग्रह गरे।
कांग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले संविधान, सङ्घीयता र विकासलाई मुख्य प्राथमिकता दिन आग्रह गरेका थिए। त्यसैगरी, लमजुङका सभापति भेषबहादुर पौडेल, म्याग्दीका सभापति खमवीर गर्बुजा, स्याङ्जाका सभापति कुमार राना, बाग्लुङका सभापति दीपेन्द्रबहादुर थापा, नवलपुरका सभापति विष्णु लामिछाने र गोरखाका सचिव नन्दु न्यौपानेले कोरोना महामारी अहिलेको प्रमुख समस्या बनेको बताउँदै यसको रोकथाम र नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।
सभापतिहरुले पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने निर्णयप्रति ध्यानाकर्षण गराउँदा मुख्यमन्त्री पोखरेलले त्यस विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेका थिए।
जिल्ला सभापति र सचिवहरूले जनअपेक्षाअनुसार सरकार अघि बढ्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पोखरेललाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।